भारतमा बुद्धिजीवीको गिरफ्तारी, दुई सय वर्षदेखिको लडाइँ र अम्बेडकरको सम्बन्ध

भारतीय पुलिसले २८ जुनमा विभिन्न सहरमा छापा मारेर करिब आधा दर्जन सामाजिक अभियन्तालाई गिरफ्तार गर्यो । हैदराबाद, मुम्बई, दिल्ली, राँची, फरिदाबादलगायत सहरबाट साहित्यकार, लेखक, कलाकार तथा बुद्धिजीवीलगायत गिरफ्तारीमा परे । हैदराबाद सिटीबाट वरवर राव, फरिदाबादबाट सुधा भारद्वाज, दिल्लीबाट गौतम नवलखा, मुम्बईबाट वेरनान गोजाल्विस, सुजैन अब्राहम, कान्ति टेकुला, अरुण फरेरा र राँचीबाट फादर स्टेन स्वामी पक्राउ परेका छन् ।


तीबाहेक पनि भारतीय प्रहरीले अन्य सामाजिक अभियन्ताका घरमा छापा मारेको थियो । कतिपयलाई यातना दिएर छाड्यो । उनीहरूलाई निगरानी बढाएको छ । केहीलाई पक्राउ गर्न असफल भयो ।
सामाजिक अभियन्ताको गिरफ्तारीपछि भारतमा विरोधका आवाज चर्किएका छन् । सरकार फाँसीवादी भएको र गरिब, दलित, उत्पीडित तथा तल्लो वर्गमाथि बर्बरता मच्चाइरहेको आरोप लागेको छ । गिरफ्तारीको विरोधमा भारतका छत्तिसगढ, रायपुर, विलासपुरलगायत स्थानमा सडक प्रदर्शन भएको छ । इतिहासकार रोमिला थापरदेखि लेखक अरुन्धती रोयसम्मले यसविरुद्ध बोलेका छन् ।
राज्यले उनीहरूलाई भारतको नक्सलाइड आन्दोलनसँग सम्बन्ध रहेको र उनीहरू भारतीय माओवादीका सदस्य भएको आरोप लगाएको छ । भीमा कोरेगाउँमा गत १ जनवरीमा भएको साम्प्रदायिक हिंसामा उनीहरूको भूमिका रहेको प्रहरीको आरोप छ ।
लडाइँको इतिहास
बुद्धिजीवीहरूको गिरफ्तारीलाई भारतीय पुलिसले भीमा कोरेगाउँ दंगासँग जोडेको छ । कोरेगाउँ दंगा दुई सय वर्षअघिको मराठ साम्राज्यको युद्धसँग सम्बन्धित छ । भीमा कोरेगाउँमा दलित समुदायले करिब दुई सय वर्षअघिको मराठा साम्राज्य र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा महार रेजिमेन्टले प्राप्त गरेको विजयलाई उत्सवका रूपमा मनाउँछन् । महार रेजिमेन्ट उक्त क्षेत्रका दलित समुदायको उल्लेख्य उपस्थिति भएको टुकुडी थियो ।
मराठा त्यहाँको ब्राह्मण शासक पेशावले नेतृत्व गरेको साम्राज्य थियो । इस्ट इन्डिया कम्पनीका तर्फबाट विजयी भए पनि दलित समुदायले यसलाई उत्सवका रूपमा मनाउने गरेको दुई सय वर्ष पूरा भएको छ । उक्त दिन महार रेजिमेन्टको बहादुरी अर्थात् पेशावविरुद्ध दलितको जितको स्मारकका रूपमा पनि स्थापित भइसकेको छ ।
भीमराव अम्बेडकर पनि हरेक वर्ष यो उत्सव मनाउन कोरेगाउँ पुग्ने गरेको बताइन्छ । तर, भारतको हिन्दुवादी सरकारले यसलाई रोक्न विभिन्नखाले आरोप लगाउने गरेको छ । कहिले धार्मिक त कहिले साम्प्रदायिक रूप दिएर यसलाई भाँड्न खोजे पनि यो अब अस्तित्वको लडाइँका रूपमा स्थापित हुन गएको छ । अहिले यही मुद्दासँग जोडिएर बुद्धिजीवीहरू पनि पक्राउ गरिएपछि भारत सरकार झनै आलोचित भएको छ । १ जनवरी २०१८ मा कोरेगाउँमा भएको हिंसामा अहिले पक्राउ गरिएका सामाजिक अभियन्ताको मुख्य भूमिका रहेको प्रहरीको आरोप छ ।
यसरी भयो कोरेगाउँ दंगा
३१ डिसेम्बर २०१७ का दिन दुई सय वर्ष पूरा भएको अवसरमा एउटा विशाल र्‍यालीको आयोजना भएको थियो । विभिन्न संगठन मिलेर आयोजना गरेको र्‍यालीलाई ‘यलगार परिषद्’ नाम दिइएको थियो । र्‍यालीमा ‘भीमा कोरेगाउँ शौर्य दिन प्रेरणा अभियान’ लेखिएको ब्यानर प्रयोग गरिएको थियो । त्यहाँ पपुलर फ्रन्ट अफ इन्डिया, मूल निवासी मुस्लिम मञ्च, छत्रपति शिवाजी मुस्लिम ब्रिगेड, दलित इलम आदि संगठनको सहभागिता थियो ।
र्‍यालीलाई दिवंगत दलित छात्र रोहित बेमुलाकी आमा राधिका बेमुलाले उद्घाटन गरेकी थिइन् । हाइकोर्टका पूर्वचिफ बिजी कोलसे पाटिल, मसलन प्रकाश अम्बेडकर, गुजरातका विधायक जिग्नेश मेवानी, जेएनयूका छात्र उमर खालिद, आदिवासी अभियन्ता सोनी सोरी आदि यो कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा दलितमाथि कसरी अत्याचार हुन सुरु भयो, कसले अत्याचार गर्न सुरु गर्यो र गरिरहेको छ भन्ने विषयमा भाषणबाजी भयो । गुजरातका विधायक जिग्नेश मेवानीले त ‘प्रधानमन्त्री मोदी अहिलेको समयको पेशाव र भाजपा संघ मराठा शासक’ भएको अभिव्यक्ति दिएका थिए ।
वक्ताहरूको भाषणसँगै कलाकारले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । दोस्रो दिन कार्यक्रम भएको आसपास क्षेत्रमा हिंसा भयो । पेशाव र दलित समुदायबीच ढुंगामुढा भयो । सवारीसाधनमा आगजनी भयो भने एक युवकको मृत्यु पनि भयो । हिंसापछि भारतीय प्रहरीले घटनाको अध्ययन गरिरहेको बताएको थियो । करिब सात महिनापछि प्रहरीले केही लेखक, साहित्यकार तथा सामाजिक अभियन्तालाई दंगा भड्काउन भूमिका खेलेको भन्दै अनुसन्धानका लागि भनेर गिरफ्तार गरेको छ ।
र्‍यालीमै थिएनन् गिरफ्तार अभियन्ता
कोरेगाउँमा ३१ डिसेम्बरका दिन भएको र्‍यालीमा अहिले प्रहरीले छापा मारेर गिरफ्तार गरिएका कोही पनि अभियन्ता उपस्थित थिएनन् । यलगार परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रकाश अम्बेडकर, जिग्नेश मेवानी, उमर खालिद, रोहित बेमुलाकी आमा, सोनी सोरी, विनय रतन सिंह, प्रशान्त दौँढ, मौलाना अब्दुल हामिद अजहरी वगैरह उपस्थित थिए ।
गिरफ्तार भएकामध्ये सुधा भारद्वाज इन्डियन आइआइटी टपर, वकिल तथा सामाजिक अभियन्ता हुन् । वरवर राव वामपन्थी विचारक तथा कवि हुन् । उनी यसअघि पनि भारतमा संकटकाल लागेका समयमा गिरफ्तार भएका थिए । गौतम नवलखा अंग्रेजी पत्रिका ‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’का सल्लाहकार सम्पादक हुन् ।
त्यस्तै, अरुण फरेरा पनि वकिल हुन् । उनी भीमा कोरेगाँउ हिंसाको सिलसिलामा गिरफ्तार भएका दलित कार्यकर्ताको पक्षमा वकालत गरिरहेका थिए । वरनान गोन्जालिस लेखक तथा सामाजिक कार्यकर्ता हुन् । उनी मुम्बई विश्वविद्यालयका गोल्ड मेडलिस्ट पनि हुन् ।
मोदी सरकारको आलोचना
प्रहरीले गिरफ्तार गरिएका अभियन्तालाई नक्सलवाडी माओवादीदेखि साम्प्रदायिक हिंसा भड्काएकोसम्मका आरोप लगाएको छ । अदालतले उनीहरूलाई नजरबन्दमा राख्न आदेश दिएको छ । त्यसको विरोधमा भारतका विभिन्न सहरमा सडक प्रदर्शन भएका छन् भने मानवअधिकारकर्मी तथा लेखक, साहित्यकारले विरोध जनाएका छन् । उनीहरूले मोदी फाँसीवादी हुँदै गएको आरोप लगाएका छन् ।
इतिहासकार रोमिला थापर, प्रभात पटनायक, सतीश देशपाण्डे, देवकी जैन र माया दारुवालाले दायर गरेको गिरफ्तारीविरुद्धको रिटमा सुनुवाइ गर्दै अदालतले आगामी ६ सेप्टेम्बरमा सुनुवाइ हुने बताएको छ ।
अभियन्ताहरूको तर्फबाट वकालत गरेका वकिलहरूले ‘जो अरूको अधिकारका लागि आवाज उठाइरहेको छ, उसैको मुख थुन्न खोज्नु लोकतन्त्रका लागि खतरनाक’ भएको प्रतिक्रिया दिएका छन् ।
सम्भाजी भिडेः कोरेगाउँ हिंसाका कमान्डर
जो गिरफ्तार भए ती र्‍यालीमा थिएनन् । जो र्‍यालीमा थिए ती गिरफ्तार भएनन् । जो आरोपित थिए उनी पुलिससँग गुपचुपै छन् र बजारको चर्चामा । ती हुन् सम्भाजी भिडे, श्री शिव प्रतिष्ठान हिन्दुस्तानका संस्थापक । आखिर को हुन् ती गुपचुपवाला व्यक्ति ?
बिबिसीका पत्रकार गणेश जोशीका अनुसार ८० वर्षीय सम्भाजी भिडेले एमएमसीसम्मको अध्ययन गरेका छन् । उनको वास्तविक नाम मनोहर भिडे हो । उनी भारतको सांगली जिल्लाका बासिन्दा हुन् । सांगलीमा एक समय बाबाराव भिडे नामका एक व्यक्ति भाजपा आरएसएसका ठूलै कार्यकर्ता थिए । सम्भाजी उनै बाबारावका भतिजा हुन् । उनले संगठनको तल्लो तहबाट त्यहाँ काम गरे । तर, पछि संगठनले उनलाई त्यहाँबाट हटाउने निर्णय गर्यो । त्यो निर्णयमा असन्तुष्ट भएपछि उनले समानान्तर संगठन खोले ।
मुख्य संगठन आरएसएसले विजयदशमीमा आयोजना गर्ने यालीको जवाफमा उनले खोलेको समानान्तर संगठनले दौड प्रतियोगिता आयोजना गर्न थाल्यो । पछि राजजन्मभूमि आन्दोलन सुरु भएपछि उनको संगठनलाई धेरै समर्थन मिल्न पुग्यो । उनी त्यो क्षेत्रमा बलियो पकड बनाउन सफल भए ।
रायगढ किल्लामा उनले एक सय ४४ किलो सुनको सिंहासन बनाउने वाचा गरेका छन् । सन् २००९ मा यस संगठनले अन्य हिन्दुवादी संगठनसँग मिलेर ‘जोधा अकबर’ फिल्मको विरोध गरेको थियो । जसका कारण सांगली, सतारा, कोल्हापुरलगायत जिल्लामा भयानक हिंसा भएको थियो ।
(एजेन्सीको सहयोगमा)

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ