बुसलाई किन जुत्ता हानेँ मैले?


तस्वीर: वासिङ्गटनइक्ज्यामाइनर

१४ डिसेम्बर, २००८।
प्रधानमन्त्री निवास, बग्दादमा पत्रकार सम्मेलन भइरहेको थियो। सुप्रिम अमेरिकाको सर्वशक्तिमान राष्ट्रपति जर्ज डब्लु बुस भाषण दिँदै थियो।
 ‘अमेरिका प्रजातन्त्रप्रति कटिवद्ध छ… अमेरिका मानवअधिकारप्रति प्रतिवद्ध छ…. अमेरिका सारा संसारमा शान्ति चाहन्छ… अमेरिका ह्यान गरिरहेछ…. अमेरिका त्यान गरिरहेछ…. इराकी-अमेरिकी भाइ भाइ…’ बुस मग्नमस्त बकवास गरिरहेको थियो। हामी पत्रकार सुनिरहेका थियौँ, झेलिरहेका थियौँ, बुसलाई सहन गरिरहेका थियौँ।
अचानक मलाई के भयो, भयो!
बुसका प्रत्येक शब्द हथौडाझैं बज्रिन थाल्यो मेरो मथिंगलमा। मलाई भाउन्न हुन थाल्यो। मेरा आँखावरिपरि विधवा र टुहुराका अनुहारहरू झल्झली आउन थाले। भूत चढेजस्तो, म विक्षिप्त भएँ।

मैले जुत्ता खोलेँ र ‘दिस इज ए फेयरवेल किस फ्रम इराकी पिपुल, यु डग (इराकी जनताको बिदाई-चुम्बन लिएर जा, कुकुर !)’ भनेर चिच्याउँदै बिजुलीवेगमा बुसलाई ताकेर हानेँ। तर, उसले कसरी-कसरी छल्न भ्यायो। त्यसपछि एक सेकेन्ड पनि खेर नफाल्दै मैले अर्को जुत्ता हुर्याएँ बुसमाथि। ‘विधवा, टुहुरा र मारिएका इराकीका तर्फबाट तँलाई उपहार हो यो,’ हलै थर्कनेगरी चिच्याएँ म। यसपटक पनि बुसले छल्यो।
त्यसपछि प्रधानमन्त्रीका अंगरक्षकहरूले मलाई नियन्त्रणमा लिए। र, मलाई इराकी सेनासमक्ष बुझाइयो।
यो जुत्ता प्रकरणले मलाई ‘हिरो’ बनायो। तर, सत्य हिरो बन्नका लागि या बुसले भनेझैं ‘चर्चामा आउन’ का लागि मैले बुसमाथि जुत्ता प्रहार गरेको थिइनँ। म इराकमा यसै पनि लोकप्रिय थिएँ। अल बग्दादिया टिभीमा युद्धपीडित भोकानांगा इराकी जनताका दुःखपीडालाई वर्षांदेखि प्रस्तुत गरिरहेको थिएँ म। इराकी जनताको पर्याप्त माया र प्रशंसा प्राप्त गरेको थिएँ। त्यसैले, बुसलाई जुत्ता हानेर हिरो बन्नु या मिडियामा छाउनु मेरो उद्देश्य हुँदै होइन। एक होइन, दुई होइन, तीन होइन।
मैले बुसलाई जुत्ता प्रहार गरेलगत्तै त्यहाँ उपस्थित पत्रकारहरूले माफी मागेछन्। बुसले इराकी जनताका तर्फबाट क्षमा मागेकोमा धन्यवाद पनि दिएछ। उसले जुत्ता फ्याँक्ने जो कोहीले इराकी जनताको प्रतिनिधित्व नगर्ने पनि बताएछ। र, ठट्टा पनि गरेछ, ‘मैले झन्डै दस नम्बरको जुत्ता खाएको!’
मलाई हिरोइजम र बहादुरीको मिथक बनाउने प्रयत्न गरियो। पत्तै नपाई, अमेरिकाविरोधी देश तथा मानिसका नजरमा म युगपुरुषजस्तो ठहरिन पुगेछु। सम्मानहरूको ओइरो लागेको थियो ममाथि। सिरियाले मलाई महापुरुष घोषणा गरेको थियो। भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले मेरो परिवारलाई आफ्नो देशमा बसोबास गर्न निमन्त्रण गरेछन्। मेरा एक आफन्तले ह्युगो चाभेजप्रति आभार प्रकट गर्दै भनिदिएछन्, ‘हामी इराकी हौँ र इराकमै बस्नेछौँ।’
पाकिस्तानी पूर्वराष्ट्रपतीय उम्मेदवार मिया मुहिबुल्ला काका खेलका लागि मेरो जुत्ता फेंकाइ अन्तर्राष्ट्रिय समुदायको अमेरिकाप्रतिको असीम घृणाको प्रतीक बन्यो। मलेसियाका विदेशमन्त्री रइस यतिमले यसलाई ‘अहिलेसम्मकै सबभन्दा सशक्त प्रत्याक्रमण’ भएको घोषणा गरे। उत्तर कोरियाको एक अखबारले लेख्यो, ‘बुसलाई जुत्ता नहाने कसलाई नहान्ने! स्यावास मुन्तजार अल-जायदी!’
कोही मलाई भव्य मर्सिडिज उपहार दिन चाहन्थ्यो भने कोही आफ्नी छोरी। मेरो प्रशंसामा गीत/कविता लेखिए। युवतीहरू ‘मजस्तो महान् व्यक्तित्व’सँग लगनगाँठो कस्न लालायित बने।
तर, म कुनै हिरो होइन । म फेरि पनि भन्छु- म कुनै हिरो होइन। मैले जे गरेँ, विशुद्ध इराकी नागरिक भएर गरेँ। लाखौं निर्दोष इराकीका पीडा र रक्तपातको प्रत्यक्षदर्शी हुँ म। भर्खर जुँगाको रेखी बसेका नवयुवकदेखि भर्खर हिँड्न थालेका कलिला बालकसम्मका शव देखेको छु मैले, क्षतविक्षत शव। अमेरिकी फौजको आतंक र अत्याचार भोगेको र देखेको छु मैले।
म कुनै हिरो होइन। तर, यौटा अडान र दृष्टिकोण भएको चेतनशील इराकी भन्ने पक्का हुँ। मेरो देश अपमानित हुँदा निःसन्देह अपमानबोधले कालो-नीलो हुन्छुम । मेरो प्यारो बग्दाद जल्दा मेरो आत्मा पनि ह्र्वाह्वार्ती जलेको थियो। मेरा निर्दाष दाजुभाइ र दिदीबहिनीका हत्या भइरहँदा खुनको आँसु रोएको छु मैले। हजारौं दुर्दान्त दृश्यहरू शिलालेखझैं खोपिएका छन् मेरो हृदयभरि। हो, ती दृश्यहरू मलाई विरोध र प्रतिरोधका लागि सधैं उक्साइरहन्छन्। फलुजा, नजफ, हादिथ, सादर, बास्रा, दियाला, मोसुल, ताल अफार आदि सहरमा अमेरिकी फौजले गरेको कत्लेआमहरूले मलाई विद्रोहको बाटोमा हिँडाए, हिँडाइरहेका छन्। मेरो मातृभूमिका एक-एक इन्च जमिनलाई क्षतविक्षत पारिदिएको छ अमेरिकाले। अमेरिकी अत्याचारको डढेलोले खरानी बनेको मेरो देश घुमेको छु मैले। खुद आफ्ना आँखाले देखेको छु मेरा देशवासीका पीडा, खुद आफ्ना कानले सुनेको छु टुहुरा, विधवा र दुःखीका आर्तनाद। र, मलाई सदा पछ्याइरहेको हुन्छ, सदा तर्साइरहेको हुन्छ, एक प्रकारको लज्जाबोधले। कारण, मैले मेरो देश र जनताका लागि केही पनि गर्न सकिनँ। यति कमजोर, यति शक्तिहीन र यति लाचार हुनुको पीडाले मलाई चिमोटिरहन्छ सधैं।
जब म खण्डहर भएका घरका बचेखुचेका सरसामग्री निकाल्न मानिसलाई मद्दत गरिरहेको हुन्थेँ, जब म आफ्ना लुगामा कट्कटिएका रगत धोइरहेको हुन्थेँ, म दाह्रा किट्दै कसम खाइरहेको हुन्थेँ कि कुनै दिन म बदला लिनेछु, अवश्य लिनेछु।
र, १४ डिसेम्बर, २००८ का दिन मैले बदला लिने मौका पाएँ। र, मैले यस मौकाको सदुपयोग गरेँ।
निर्दोष इराकीका एक-एक थोपा रगत, शोकाकूल आमाका एक-एक चित्कार, टुहुराका एक-एक रुवाइ, बलात्कृतका एक-एक पीडा… मैले यी सबका प्रति इमान्दार बन्ने प्रयत्न स्वरूप फुकालेँ जुत्ता र फ्याँकेँ बुसको टाउको ताकेर।
मेरो आलोचना गर्नेलाई मैले सोध्ने गरेको छु- तपाईंलाई थाहा छ मैले फ्याँकेका जुत्ता कतिवटा ध्वस्त घरमा छिरेका छन्? कतिपटक यिनले निर्दाषका लासमाथि कुल्चेर हिँडेका छन्। सायद, सारा मूल्यहरू विघटन भएको समयमा मेरा जुत्ता उपयुक्त जवाफ थिए।
अपराधी जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेर मैले उसका झूटहरूप्रति, मेरो देशमाथिको अमेरिकी आधिपत्यप्रति, उसले मच्चाएको ब्रम्हलुटप्रति र मेरा देशवासीका हत्याप्रति अस्वीकृति व्यक्त गरेको थिएँ। केही हासिल गर्नका लागि कदापि मैले त्यसो गरेको थिइनँ। म केवल आफ्नो देशलाई बचाउन चाहन्थेँ। बस्।

_________________________________________________________________________________
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि इराकमा जुत्ता प्रहार भएको थियो। जुत्ता प्रहार गर्ने मुम्तजार अल जैदीको बयान  कवि विनोदविक्रम केसीले अनुवाद गरेर  नयाँ पत्रिकामा प्रकाशित गरेका थिए।  

Comments

Popular posts from this blog

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा