को–को किन चाहन्छन् जनमतसंग्रह ?

संसद्मा दुईतिहाइको निर्णयबाट राजनीतिक विषयमा जनमतसंग्रहमा जान सकिने संवैधानिक व्यवस्था

नयाँ संविधान घोषणा भएको तीन वर्ष मात्रै नाघ्दैछ । तर, संविधानका प्रावधानहरूमा संशोधन चाहने स्वर सुस्तसुस्त बढ्न थालेको छ । फरक–फरक एजेन्डामा राजनीतिक शक्तिहरूले जनमतसंग्रहको माग गर्न थालेका छन् ।कांग्रेस महामन्त्री शशांक कोइरालाले बुधबार गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने आफ्नो पुरानै धारणा दोहो-याए । यो उनको नयाँ विचार होइन । नेपालको प्रजातन्त्रिक आन्दोलनका अगुवा बिपी कोइरालाका पुत्र र प्रमुख प्रतिपक्षी कांग्रेसका निर्वाचित महामन्त्रीसमेत रहेका कोइरालाले उठाएको जनमतसंग्रहको मागले राजनीतिमा पटकपटक तरंग पैदा हुने गरेको छ । 
कांग्रेसमा उनीभन्दा पहिले नेता खुमबहादुर खडकाले हिन्दूराष्ट्र कायम गरिनुपर्ने आवाज उठाइरहेका थिए । उनको निधनपछि महामन्त्री कोइराला नै कांग्रेसभित्र हिन्दूराष्ट्र पक्षधरका प्रभावशाली नेता देखिएका छन् । उनले पटकपटक जनमतसंग्रहको माग गर्दै आएका छन् ।प्राध्यापक लोकराज बराल यसलाई नेपाली राजनीतिमा देखिएको न्यूनतम नैतिकताको खडेरिका रूपमा व्याख्या गर्छन् । गणतन्त्रवादी पार्टीका महामन्त्री कोइराला भने हिन्दूराष्ट्र निर्माणबाट अझै पर पुगेर गणतन्त्र र संघीयताबारे नै ‘जनमतसंग्रह’ गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । 
जनमतसंग्रहको विषयलाई यतिखेर अरू शक्तिले पनि जोडले उठाइरहेका छन् । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिसँगै जनमतसंग्रहको बहस फेरि उठेको छ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउतले ‘नेपालको संविधानअनुसारै आफूले गतिविधि गर्ने’ प्रतिबद्धता जनाउँदै मूलधारको राजनीतिमा आउने घोषणा गरेका छन् । 
प्रतिपक्षी दल र सरकार राउतसँग भएको यही सहमतिमा राखिएको ‘जनअभिमत’ शब्दको विषयमा तर्कवितर्क गरिरहेका छन् । विश्लेषकहरू भने सहमतिलाई राउतको मूलधारमा आएर मधेसलाई आफ्नो पक्षमा पारिरहने चालबाजीका रूपमा व्याख्या गरिरहेका छन् ।
-कांग्रेस महामन्त्री डा. शशांक कोइराला हिन्दूराष्ट्र पुनस्र्थापित गर्न जनमतसंग्रह चाहन्छन्
- जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेसलाई बेग्लै राष्ट्र बनाउन जनमतसंग्रह भन्दै आएका थिए
 -राप्रपाका सबै समूह राजतन्त्र र हिन्दूराज्य स्थापनाका लागि जनमतसंग्रह माग गरिरहेका छन् 
नेपालको पहिलो र एक मात्र जनमतसंग्रह
२०३६ साल सेरोफेरोमा बहुदलीय व्यवस्थाको माग गर्दै चलेको राजनीतिक आन्दोलन सम्बोधन गर्न जनमत संग्रहको उपाय अंगालिएको थियो । २०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्र शाहले बहुदलीय व्यवस्थामा जाने वा सुधारिएको पञ्चायतमा भन्ने विकल्पमा जनमत लिने घोषणा गरेका थिए । सोहीअनुसार २०३७ बैशाख २० मा जनमत संग्रह भएको थियो । यो नेपालको राजनीतिक इतिहासमा अहिलेसम्मको एक मात्र प्रत्यक्ष जनमतसंग्रह हो । त्यसको परिणाम २०३७ साल जेठ १ मा आएको थियो । 
राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि त्यसबारे जनमत सग्रह घोषणा भएको थियो । देशभरिका कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये ४८ लाख १३ हजार ४ सय ८६ मत खसेको थियो । पञ्चायत पक्षलाई ५४ दशमलव ७९ प्रतिशत र बहुदलको पक्षलाई ४५ दशमलव २१ प्रतिशत मत प्राप्त भएको थियो । 
सिके राउतसँगको ११ बुँदे सहमतिमा भएको ‘जनअभिमत’ शब्दको विषयमा प्रतिपक्षी दल र सरकार तर्क–वितर्क गरिरहेका छन्
प्रधानमन्त्री ओलीको स्वीकारोक्ति  : राजनीतिक विषयमा जनमतसंग्रह गर्न सकिन्छ
सरकारबाहिरका शक्तिले जनमतसंग्रहको विकल्पलाई राजनीतिक विषय बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यस्तो सम्भावनालाई नकारेका छैनन् । २७ फागुनमा राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक उत्सवमा बोल्दै उनले राजनीतिक विषयमा जनमतसंग्रह हुन सक्ने बताएका छन् । 
सिके राउतसँग गरेको ११ बुँदे सम्झौतापछि त्यसलाई व्याख्या गर्ने विषयमा देखिएको विवादबीच ओलीले ‘राजनीतिकबाहेक राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमतसंग्रह हुन नसक्ने’ स्पष्ट पारेका थिए । 
राप्रपा जनमतसंग्रहबाट राजतन्त्र ब्युँताउन चाहन्छ
विभिन्न टुक्रामा विभाजित राप्रपाहरू पनि जनमतसंग्रहसँगै हिन्दूराष्ट्र पुनस्र्थापनाको वकालत गरिरहेका छन् । कमल थापा नेतृत्वको राप्रपाले यसै विषयमा जनमत तयार गर्ने भन्दै मेची–महाकाली अभियान नै चलायो । राप्रपाले संविधान निर्माण हुनुअघि नै हिन्दूराष्ट्र र राजतन्त्रबारे निरन्तर आवाज उठाउँदै आइरहेको थियो । संविधान घोषणा हुनुभन्दा पहिले अध्यक्ष थापाले भनेका थिए, ‘माघ ८ भित्र संविधान बन्छ भने आफ्नो पार्टीको मान्यता पूरा नभए पनि स्वीकार गर्ने भन्ने थियो । अब त्यो स्थिति नरहेकाले संविधान निर्माण अगाडि जनमतसंग्रह गरेर मात्रै संविधान घोषणा गरिनुपर्छ ।’ 
संविधान निर्माणभन्दा पहिलेको घोषणा किनारामा राखेर थापा संविधानको कार्यान्वयनका लागि बनेको गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री नै भए । तीनै तहको निर्वाचनमा कमजोर मत आएपछि राप्रपा अहिलेको सरकारमा सहभागी छैन । र, पटकपटक जनमतसंग्रहको माग राख्दै गतिविधि सञ्चालन गरिरहेको छ । 
थापाले त्यस्ता कार्यक्रममा भन्ने गरेका छन्, ‘सनातन हिन्दूराष्ट्रको पुनस्र्थापना, राज संस्थासहितको लोकतन्त्र कायम गरिनुपर्छ र संघीयताबारे जनमतसंग्रह गरिनुपर्छ ।’ यही एजेन्डा लिएर १५ फागुनदेखि ३० सम्म राप्रपाले मेची–महाकाली अभियान चलायो । त्यसअघि जनमतसंग्रहको माग राख्दै कमल थापाले चैतसम्मको अल्टिमेटमसमेत दिएका छन् । ५ फागुनमा पत्रकार सम्मेलन नै गरी उनले २२ बुँदै अल्टिमेटम सार्वजनिक गरेका थिए । 
तीनै तहको निर्वाचनमा कमजोर मत आएपछि राप्रपा अहिलेको सरकारमा सहभागी छैन, तर पटकपटक जनमतसंग्रहको माग राख्दै गतिविधि सञ्चालन गरिरहेको छ ।
भर्खरै दुई पार्टी एकता गरेर बनेको राप्रपा (संयुक्त) ले पनि राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका विषयमा जनतामा जानुपर्ने धारणा सार्वजनिक गरिरहेको छ । पटकपटक विभाजन र एकतामा अल्झिरहेका पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले एजेन्डालाई बलियो बनाउने भन्दै एक भएका हुन् । 
एकतापछि देशैभर विभिन्न कार्यक्रमहरू गरिरहेको राप्रपा (संयुक्त)का दुवै नेताले ४ फागुनमा सुर्खेतमा आयोजित आन्तरिक कार्यक्रममा जनमतसंग्रहमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् । अध्यक्षद्वयले ‘संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्र पुनस्र्थापना गर्न जनतामा जाने’ बताएका छन् । 
‘यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गर्ने र आवश्यक परे आन्दोलन पनि गर्नुपर्छ,’ राणाले भनेका थिए । अर्का अध्यक्षले लोहनीले संविधान संशोधन नै गर्नुपरे पनि तयार हुनुपर्ने बताएका छन् । उनले भने, ‘संविधानको कुनै दफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको छ ।’
जनमतसंग्रहबारे संविधान के भन्छ ?
संवैधानिक कानुनभित्र रहेर वा बाहिरबाट पछिल्लो समय जनमतसंग्रह सबैले देखाउने सहज विकल्प भएको छ । नेपालको संविधानको भाग ३२ मा विविध खण्डअन्तर्गत जनमतसंग्रहसम्बन्धी व्यवस्था गरिएको छ ।
यस्तो छ धारा २७५ मा
जनमतसंग्रहसम्बन्धी व्यवस्था :
 (१) राष्ट्रिय महत्वको कुनै विषयमा जनमतसंग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमतसंग्रहबाट निर्णय लिन सकिनेछ ।
(२) जनमतसंग्रह र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुनेछ ।

नयाँपत्रीका दैनिकमा को–को किन चाहन्छन् जनमतसंग्रह ? शिर्षकमा प्रकाशित सामाग्री

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग