कोरोनाभाइरसको महामारीपछि मानव जीवन

सौजन्य: डब्लूएचओ/गेट्टीईमेज


के कोभिड-१९ ले सँधैको लागि हाम्रो जीवनलाई बदलिदिन्छ?
 प्राविधि, अर्थशास्त्र, चिकित्सा र राजनीतिक विशेषज्ञहरूका विचार
• जहीना रशीद/अल्जजीरा

हामीलाई थाहा छ, कोभिड-१९ को महामारीले हाम्रो जीवनको गतिलाई तहसनहस पार्दैछ । यतिबेला विश्वको एक चौथाईं जनसंख्या घरभित्र बन्दी बनेको छ, दर्जनौं राष्ट्रहरू लकडाउन भएका छन् ।
विश्वका धेरै स्थानमा सीमाहरू शिल गरिएका छन् । विमानस्थल, होटल र व्यापार बन्द भएका छन् भने स्कुलहरू स्थगन गरिएका छन् । यसले समाजमा ठूलो उथलपुथल श्रृजना गरेको छ । अर्थतन्त्र धराशायी बनेको छ भने कामदारहरू बेरोजगार बनेका छन् । साथै भोकमरी शुरू भएको छ ।
जे-जे भई रहेको छ त्यसले अब विश्वको जीवनशैलीलाई दीर्घकालिन रुपमा नै बदल्छ भन्ने विश्लेषण हुन थालेको छ । अब मानिसले आफ्नो खानपान, रहनसहन, पूजा-पाठ, खेलकुद, काम गर्ने शैली वा मानिसको दैनन्दिन्को जीवनशैलीमा व्यापक परिवर्तन गर्नेछन् भन्ने विश्लेषकहरूको अनुमान छ ।
धेरैको भनाई छ, महामारीपछिको दुनियाँ यस अघिको भन्दा खराब हुनेछैन, अझैं राम्रो हुनेछ ।
त्यसोभए कस्तो देखिएला हाम्रो भविष्य ?
चिकित्सा, मनोविज्ञान, अर्थशास्त्र र प्रविधिका विज्ञहरूको धारणा:

संकटमा सदृश्य दुनियाँ : प्रविधि झनै शक्तिशाली

एन्ड्रयू कीन

डीजीटल रेभोलुसनमाथि टिप्पणी गर्ने कीनका 'हाऊ टू फिक्स दी फ्यूचर'लगायत ५ वटा पुस्तक प्रकाशित छन् । उनी अमेरिकाको बर्कलेमा बस्छन् ।

परम्परागत भौतिक सदृश्य संसार संकटमा परिरहेको छ । होटल, रेस्टुरेन्ट, व्यापार, हवाई यातायात आदि कोही पनि यसबाट अछूतो छैन । जबकी डीजीटल दुनियाँ पूरै सक्रिय भएको छ । हामी प्रविधिकै कारण यो महामारीबाट जोगिएका छौं । हरेक मान्छे घरभित्र थुनिनु परेको छ । बाहिरी संसार हेर्ने एक मात्रै माध्यम भनेको स्मार्ट फोन बनेको छ । महामारीपछि यो क्रम अहिलेभन्दा धेरै प्रभावकारी हुनेछ । यदि त्यति भएन भने पनि अहिलेकोभन्दा टेक्नोलोजीका कम्पनीहरू त्यसपछि थप शक्तिशाली हुने निश्चित छ ।
यो संकटको लाभ सबैभन्दा बढी कसैलाई हुनेछ भने त्यो टेक्नोलोजीका कम्पनीहरूलाई हुनेछ । 'जूम' जस्ता साना कम्पनीहरू मात्रै होइन, ठूला खेलाडी मानिएका गुगल, एप्पल, फेसबुक, प्येपलजस्ता अमेरिकीर चिनियाँ कम्पनीहरूले यसको लाभ प्राप्त गर्नेछन् । यसअघि मानिसहरू विज्ञान प्रविधिप्रति जति आलोचना र गाली गरिरहेका थिए त्यो अहिले कम हुँदै गएको छ । प्रविधिमा भर पर्नु परेपछि छिट्टै मानिसहरूले सीलिकन भ्यालीप्रतिको शत्रुतालाई बिर्सिनेछन् र त्यसको थप उपयोग गर्नेछन् ।
अहिले धेरै सरकारहरूले प्रविधिमाथि अत्याधिक निगरानी गरिरहेको देख्न सक्छौं । तर यो महामारीसँग लड्नका लागि उपयोगी हतियार हो । उदाहरणका लागि इजरायल जस्ता मुलुकहरूले भाइरस पत्ता लगाउनका लागि पनि स्मार्ट फोन ट्र्यास गरेर अनुसन्धान गरिरहेका छन् । तर त्यस्ता गतिविधिले व्यक्तिगत स्वतन्त्रता र गोपनियतामाथि असर पुग्ने खतरा छ ।  यो कुनै नयाँ कुरा होइन, बरू यसले धेरै वर्षदेखि चलिरहेको खेलको सीमालाई बढाउने छ । थप गति पैदा गराउने छ । अगाडि बढ्दै जाँदा यसले क्यामेराबाट हाम्रो क्षमतालाई मात्रै होइन, सामाजिक तथा राजनीतिक अधिकारहरू पनि निर्धारण गर्नेछ ।
अर्कोतर्फ यस संकटले पहिलेदेखि नै कमजोर पश्चिमाहरूलाई झन कमजोर बनाउने छ । किनभने यो महामारीको सबैभन्दा पहिले अनुभव गर्ने र त्यसबाट मुक्त हुने मुलुक चीन हो । चीनसँगै पूर्वी एसियाका सर्वसत्तावादी सिंगापुर, दक्षिण कोरिया जस्ता मुलुकले कोरोना संकटलाई निर्मुल पारिरहेका छन् । पश्चिमी लोकतन्त्रभन्दा उनीहरू कयौं गुणा व्यावहारिक देखिएका छन् । व्यक्तिगत स्वतन्त्रता, गोपनियता आदि विषयबारे हिसाब गरिरहेको हरेक मानिसलाई चुनौती बनेको छ, अब उसले स्वतन्त्रता रोज्ने कि प्रविधि र दुनियाँको गति ।

अन्तर्राष्ट्रिय सहकार्य धरासयी : कमजोर राष्ट्रमा अराजकता
एन्ड्रीयस क्रिग
बेलायतको किंग्स कलेज लन्डनमा स्कुल अफ सेक्युरीटीजका सहायक प्रोफेसर

कोभिड-१९ ले सबै मानवीय सेवाहरूलाई द्रुत गतिमा प्रविधिमय बनाउँदै चौथो औद्योगिक क्रान्तिलाई अघि बढाउने छ । समुदाय र राज्य बीचको दूरी बढ्ने छ भने राज्यले नागरिकमाथिको नियन्त्रणलाई झनै पेचिलो बनाउने छन् ।
कोभिड-१९ का कारण व्यक्तिगत सुरक्षाका लागि भन्दै राज्यहरूले नागरिक स्वतन्त्रतालाई पर्याप्त मात्रमा दबाउन खोज्नेछन् । जसका कारण उदारवादी विश्वको सामाजिक संरचनामा बदलाव आउने छ ।
कोभिड-१९ बाट नागरिकलाई बचाउने बहानामा शासकहरूले व्यक्तिको निजी जीवनमा हस्तक्षेप गरेर सूचनालाई नियन्त्रणमार्फत आफ्नो शक्तिलाई थफ बढाउने छन् । डीजीटल टेक्नोलोजी प्रयोगले सुक्ष्म पुलिस निर्माण गर्न राज्यलाई सहज बनाउने छ । जहाँ राज्यको नागरिकमाथि भइरहेको नियन्त्रण प्रष्ट रुपमा देखिदैन । राज्यले सुरक्षा प्रदान गरोस भन्ने चाहनाले व्यक्तिले जान अन्जानमा नै आफ्ना डाटा राज्यलाई सुम्पिन बाध्य हुनुपर्नेछ ।
अन्तर्राष्ट्रिय स्तरमा धेरै कम मात्रै सहकार्य हुनेछ । राष्ट्रवाद र आत्म केन्द्रित प्रवृत्ति निरन्तर हावी हुँदै जानेछ । पपुलिस्टहरूले बाह्य हस्तक्षेपको त्रास देखाएर आफ्नो राजनीतिक दाउलाई बलियो बनाउने छन् । धेरै मुलुकलाई आर्थिक, सामाजिक र नागरिकको स्वास्थ्य समस्या समाधान चुनौतीको विषय बन्नेछ ।
कोभिड-१९ का कारण उत्पन्न विश्व आर्थिक संकटको असर हरेक मुलुक र सरकारलाई पर्नेछ । त्यसको ठूलो असर स्वास्थ्य क्षेत्रमा नै देखिनेछ । असफल राष्ट्रहरू अराजकतातर्फ धकेलिने छन् । त्यस्तो अवस्था निरंकुश राज्यहरूको स्थापनाको सम्भावना प्रबल बन्दै जानेछ । लाखौं मानिसहरू घरवार विहिन बन्नेछन् भने जनजीविकाकै लागि उनीहरूले आवाज उठाउँदा त्यसमाथि राज्यको दमन चर्को बन्न सक्नेछ ।

मान्यताहरू र आदतमा परिवर्तन
पीट लन
आयरल्याण्डको डबलिनमा आर्थिक र सामाजिक अनुसन्धान संस्थानका बिह्याविरियल रिसर्च प्रमुख

मानिसहरू पछाडि फर्केर यो समयलाई आफ्नो जीवनमा परिवर्तन भएको क्षणका रुपमा सम्झिरहने छन् भन्नेमा मलाई आशंका छ ।
हामी धेरैको जीवनमा लक्ष्य प्राप्ति गर्ने, परिवारलाई हेर्ने र काममा सघाउने आदत छ, हामी त्यसैमा अभ्यस्त पनि छौं । जसले आफ्ना यस्ता बानीहरू परिवर्तन गर्छ उसले चलिरहेको प्रणालीलाई धक्का दिन्छ । मानिसहरूको काम गर्ने तरिका, दैनन्दिन् जीवनको समय तालिका, खाने, बस्ने, लगाउने, घर परिवारसँग गर्ने व्यवहार आदि जीवन जिउने शैलीमा यो घटनाक्रमले व्यापक परिवर्तन ल्याइदिने छ । जब मानिसले आफ्नो शैलीलाई परिवर्तन गर्न थाल्दछ, विस्तारै त्यो आदत बन्न पुग्छ । यसका लागि धेरै होइन, हप्ता या महिना दिनको समय नै काफी हुन्छ ।
यो भन्दा धेरै मानिसको जीवनका मान्यताहरूमा पनि परिवर्तन आउने छन् । हामीलाई थाहा छ समाजमा निकै धेरै मान्यताहरू छन् जसले समाजलाई अघि बढ्न मद्दत गरिरहेका छन् । ती मान्यताहरूले हरेक नयाँ पुस्तालाई आफ्ना पुर्खाहरूको जीवनशैली ग्रहण गर्न बाध्य वा सहज तुल्याउँछन् । महामारी कुनै युद्धभन्दा धेरै फरक विषय हो तर यसले सबैलाई एकपटक असर गर्छ । जसका कारण परिवर्तन पनि सामूहिकतामा हुन्छ । त्यसले हामीलाई सामूहिक कार्य के हो र समुदायको आवश्यकता किन पर्छ भन्ने कुरो गतिलो गरि अनुभुत गराउँछ ।
यो कमजोर सम्बन्धका लागि खतराको समय पनि हो । मदिरा सेवन गर्ने र कुलतमा फसेका व्यक्तिका लागि यो झनै खतरनाक अवस्था हो । यो अवस्थामा मानसिक रोगी, डीप्रेसन आदि भएका व्यक्तिलाई पनि सहि तरिकाले व्यवस्थापन गर्न जरुरी हुन्छ । यदि सहि व्यवहार उनीहरूले महसुस गरे भने जीवन पाउन सक्छन्, अन्यथा दुर्घटना हुने निश्चित हुन्छ ।

प्राथमिक स्वास्थ्य सेवामा क्रान्ति
विन गुप्ता
अमेरिकाको सेट्टलस्थित वासिङ्गटन स्कुल अफ मेडिसिन विश्वविद्यालयमा सहायक प्रोफेसर

यो शताब्दीभरी नै हामीले यो स्तरको स्वास्थ्य समस्याको सामना गर्नु परेन ।  यसले विश्व मानव समुदायका लागि मनोवैज्ञानिक रुपमा एउटा ठूलो खतराको  घण्टी बजाइदिएको छ र यस विरुद्ध लड्नका लागि पनि सीमाहरू निर्धारण गरिदिएको छ । विश्वभरका मानिसहरूलाई भविष्यमा आफ्नो स्वास्थ्य उपचारको मागका लागि कोभिड-१९ गतिलो आधार हुनेछ । तर त्यसको जवाफ र व्यवस्थाप सम्भव छ कि छैन भन्ने कुरा शासकको पारदर्शिताले प्रमाणित गर्नेछ ।  सहि तवरले समस्याको हल नभए स्वास्थ्य समस्या पनि विश्वका लागि आतंकवाद र परमाणु हतियार जस्तै खतरनाक विषय बन्न सक्छ ।
आईसीयू बनाउन, भेन्टीलेटर निर्माण गर्न, आपतकालिन अस्पतालको पूर्वाधार निर्माण गर्न र रोगसँग लड्न पनि अब सरकारहरू सेनामा भर पर्नुपर्ने अवस्था देखिन सक्छ ।
अहिले अमेरिकामा हामी त्यही अवस्थाबाट गुज्री रहेका छौ । धेरै राम्रो अवस्था यहाँ छैन । यसले भविष्यमा नागरिकमाथि नियन्त्रण गर्ने र आगामी २०२० को निर्वाचनमा पनि असर पुर्‍याउने निश्चित  छ ।
हामी प्राथमिक स्वास्थ्य उपचारको लागि क्रान्ति गरिरहेका छौं । डीजीटल टेक्नोलोजी अझैं बढी आवश्यक हुनसक्छ भने हामी टेलिमेडिसिनको प्रयोगबाट घरेलु उपचार गर्ने अवस्थामा पुग्नसक्छौं । अमेरिकाको एक तीहाई जनसंख्या त अहिले पनि टेलिमेडिसिनको प्रयोग गरिरहेको छ । मानिसहरूसँग यति बेला यसमा निर्भर हुनुको अरू विकल्प पनि छैन । तिनीहरूले जति धेरै यो प्रयोग गर्नेछन त्यति नै धेरै यस विधिमाथि विश्वास पनि गर्नेछन् । जसका कारण यसको माग बढ्ने छ र आपूर्ति हुन थालेपछि सस्तो र सहज पनि हुनेछ ।
त्यसैले महामारी स्वास्थ्य क्षेत्रमा बाँकी रहेका विकाशका कार्यहरूलाई पूर्णता दिनका लागि सहयोगी बन्ने छ भने के गर्न बाँकी रह्यो भन्ने कुरालाई दर्शाउने छ ।

खतरामा धर्मको औचित्य
मोह्द फैजल मुसा
क्वालालम्पुरको नेशनल यूनिभर्सिटी अफ मलेशियामा मलय वल्ड एण्ड सिविलाइजेसनमा रिसर्च फेलो

यो प्रकोपले केही धर्म र संस्कृतिका मानिसको जीवनमा निकै ठूलो असर पुर्‍याएको छ । दक्षिण कोरिया, मलेशिया, इरान जस्ता केही मुलुकमा कोभिड-१९ को प्रकोपले धार्मिक स्थल र समारोहहरू बन्द भएका छन् ।  आधुनिक इतिहासमा यसभन्दा पहिले कहिल्यै पनि सुन्नी र सिया मुस्लिम समुदायका पवित्र स्थलहरू सुरक्षाको कारणले बन्द गरिएका थिएनन् ।
केही महिनामा मुसलमानहरूको रामादान शुरु हुनेछ । कुनै दुई मत छैन कि धर्मको मान्यता त्यसको अनुष्ठानमा निहित हुन्छ तर त्यहाँ धेरै कम मानिस मात्रै उपस्थिति हुनेछन् ।
त्यस्तो कुनै प्रविधि छैन जसले धर्मलाई विकल्प दिन सक्नेछ । पक्कै पनि अहिले हामी उपदेशवाला अनलाइन माध्यमहरूको प्रशंसा गर्न सक्छौं । तर मानिसले प्रत्यक्ष नछोइकन वा  अनुष्ठान नगरिकन धेरै धर्मको औचित्य नै रहँदैन । अनुष्ठान यति महत्वपूर्ण छ कि कतिपय धर्मको प्रतिक नै मानिन्छ ।
यो प्रकोपपछि सुन्नी मुसलमानहरूको हज, इसाईहरूको सामूहिक प्रार्थना, हिन्दुहरूको पूजा र शियाको अरवीएन जस्ता जमघटहरूमा कि त प्रतिबन्ध लाग्नेछ कि भने निश्चित मापदण्डहरू तोकिन थाल्नेछन् । मानिसको संख्या तोकेर धर्म मान्न थालियो र सरसफाई लगयातका मापदण्डहरू लागू गरियो भने सायदै कसैले त्यो दु:ख अबको समयमा गर्ला ।
यस्ता सामूहिक संस्कारले भक्तहरूलाई धर्मप्रति विश्वास दिलाउँछन् । पर्याप्त सहभागिता विना भक्तहरूमा विश्वास धेरै समय टिकीरहन मुस्किल पर्दछ । दोस्रो शब्दमा, अब मानव संस्कृतिको ठूलो स्रोतमध्ये एक धर्म र समाजको ज्ञानपद्धति कहिल्यै एक हुनेछैनन् ।

मजबुत वैश्विक व्यापार र असमानतामा कमी
शान्ता देवराजन
अमेरिकाको जर्जटाउन विश्विद्यालयको विदेश विभाग अन्तर्गत प्रयाक्टीस अफ इन्टरनेशनल डेभलपमेन्टका प्राध्यापक

कोभिड-१९ ले आर्थिक र यातायातमा भ्यंकर विश्वव्यापी संकट उत्पन्न भई रहेको देखिएको छ । यसले हामी व्यापारको विश्वव्यापी सञ्जालमा कसरी अल्झिएका छौं भन्ने पनि देखाएको छ । मेडिकल इक्युप्मेन्टदेखि मास्क, टेस्ट किटस आदिको अभावले मात्रै पनि यी सबै कुरालाई प्रमाणित गरिदिएको छ । तर मेरो विचारमा महामारीपछि यो पुन: पुरानै गतिमा सञ्चालन हुनेछ । वैश्विक व्यापार पहिलेभन्दा अझैं शक्तिशाली हुनेछ भने सप्लाई अस्थाई विषय हुनेछ ।
राष्ट्रिय स्तरमा यस महामारीले धेरै मुलुकलाई तिनीहरूको सामाजिक नीतिलाई परिवर्तन गर्न बाध्य तुल्याउने छ भने स्वास्थ्य हेरचाहलगायत सामाजिक सुरक्षामा थप ध्यानाकर्षण गराउने छ । यस बाहेक अनौपचारिक श्रमिकहरूलाई पनि केही मद्दत पुर्‍याउने छ ।
यदि प्रकोप नियन्त्रणपछि यस्ता केही नीतिहरू बनाउन सकेको खण्डमा यसले असमानतालाई घटाउन मद्दत पुर्‍याउने छ । हामीले संकटको समयमा ब्यांक र आर्थिक क्षेत्रलाई सहयोग गरिरहेका सरकारहरू पनि देखि रहेका छौं । यसले प्रकोपपछि पनि अर्थतन्त्रको रक्षा कसरी गर्ने भनेर काम भईरहेको देखाउँछ । यसरी जोगिएको अर्थतन्त्रले असमानतालाई घटाउने छ ।


अनुवाद: दिपेश शाही

हिमालखबरमा प्रकाशित सामाग्री

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग