कतारका हिरासतमा नेपाली श्रमिकमाथि दुर्व्यवहार : बिना तलब निष्कासन, आफ्नै सामान नदिएर घर फिर्ता

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसलाई महामारी घोषणा गरेको दोस्रो दिन, २९ फागुन, बिहीबार ।
सयौं आप्रवासी श्रमिकहरू कार्यरत कतारको राजधानी दोहाको औद्योगिक क्षेत्र, बारवा र लेबरलगायत सहरमा प्रहरीले अन्धाधुन्ध धरपकड सुरु गर्‍यो । हजारौं नेपालीहरू समेत कार्यरत औद्योगिक क्षेत्रमा अचानक प्रहरीको धरपकड र गिरफ्तारी चलेपछि कुनै मेसो नपाएका श्रमिकहरू चकित मात्रै पर्न सके, परदेशमा प्रहरीसँग कुनै प्रश्न गर्न सकेनन् ।
आवासमा सँगै बस्ने र एउटै कम्पनीमा मजदूरी गर्ने सहकर्मी माथिको हस्तक्षेपको कारण बारे बेखबर उनीहरूले प्रहरीले बोलेको भाषा समेत बुझ्न सकेनन् । एउटा शब्द भने बुझे, 'कोरोनाभाइरस' । त्यो कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण विश्वभर द्रुत गतिमा फैलिइरहेको र महामारी घोषणा भएको दोस्रो दिन थियो ।
खाडीका गल्फ को-अपरेसन काउन्सीलका सदस्य मुलुकहरूमा संक्रमितको संख्या विस्तारै उकालो लाग्ने क्रममा थियो । कतारमा मात्रै त्यस दिनसम्म संक्रमितको संख्या २६२ पुगिसकेको थियो ।
प्रहरीले धरपकड दोस्रो दिन पनि जारी राख्यो । को को गिरफ्तार हुने र कहाँ लगिने हो भन्ने कसैलाई थाहा थिएन । कतारमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढ्दै थियो । धरपकडको दोस्रो दिन अर्थात ३० फागुनसम्म संक्रमितको संख्या ३२० पुगिसकेको थियो । तर, बन्दाबन्दी लागू भइसकेको थिएन ।
वैदेशिक रोजगारमा जाने नेपालीहरूको गन्तव्य मुलुकमध्ये एउटा हो, कतार । प्रहरीको उक्त धडपकडमा नेपालीहरू पनि परे ।
सयौँ आप्रवासी श्रमिकहरूलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएपछि शहरका विभिन्न भागका हिरासतमा राख्यो । ‍औपचारिक कुनै जानकारी नदिएपनि प्रहरीले श्रमिकहरूलाई कोभिड-१९ परीक्षणको लागी लग्न लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने आश्वासन दिएको थियो ।
तर हिरासतमा लिएर सयौं श्रमिकहरूसँगै नेपालीहरूलाई पनि कतार प्रहरीले अमानविय व्यवहार त गर्‍यो नै उनीहरूलाई आवासमा आफ्ना सामाग्री समेत ल्याउन नदिएर विमानस्थलबाट सिधै नेपाल पठाइदियो ।
२९ र ३० फाल्गुनमा कतार प्रहरीले गिरफ्तार गरेकाहरूलाई कोभिड-१९ को परीक्षण सकिएपछि आ-आफ्नो आवासमा फर्काइदिने भनेपनि हिरासतबाटै २ चैतमा २५० र ६ चैतमा १५० जना नेपाली कामदारलाई नेपाल पठाइयो ।
कतार प्रहरीले गरेको उक्त कार्यप्रति अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले चिन्ता व्यक्त गरेको छ । कतारमा आप्रवासी श्रमिकहरूसँग अन्तर्क्रिया गरेपछि उक्त संस्थाले प्रतिवेदन सार्वजनिक गर्दै उनीहरूको स्वास्थ्यको अधिकारको पूर्ण संरक्षण गर्नुपर्ने माग राखेको छ ।
साथै कतारले अधिकार उल्लङ्घन भोगेका श्रमिकहरूलाई प्रभावकारी उपचार गर्नुपर्ने, परिपूरण सुनिश्चत गर्नुपर्ने र कोभिड-१९ को सङ्कटका क्रममा आप्रवासी श्रमिकहरूको स्वास्थ्यको अधिकारलाई पूर्ण रूपमा संरक्षण गरेको सुनिश्चत गर्नुपर्ने धारणा उक्त संस्थाले सार्वजनिक गरेको छ ।
परिक्षण गर्ने भन्दै झुक्याएर हिरासतमा
१२ र १३ मार्चमा आप्रवासी श्रमिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि 'कोभिड-१९ को परिक्षण गर्न स्वास्थ्यकर्मीहरू आउँदै छन्' भनेर केही समय आवासतर्फ जान दिइएन । दैनिक उपभोग्य सरसामान किन्न आएका उनीहरू विश्वास गरेर बस्नुको विकल्प थिएन । तर, एकछिन पछि स्वास्थ्यकर्मी होइन प्रहरीको बस आइपुग्यो र सबैलाई कोचेर हिंड्यो ।
बसबाट उनीहरूलाई सिधै औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगेको प्रहरीले त्यहाँ पुगेपछि उनीहरूको कागजात र मोबाइल फोन जफत गरेको एक जना पीडित नेपाली श्रमिकले बताएका छन् ।
"प्रहरीले त्यहाँ लगिएका सबैको फोटो खिच्यो र औँठाछाप लियो । अरू विभिन्न देशका कामदार जस्तै हामीलाई पनि अमानवीय व्यवहार गरेर हिरासतमा राखियो । पर्याप्त पानी र खाना समेत नदिएर खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा हामीलाई राखियो," एक जना पीडितले एम्नेस्टी इन्टरनेसनलसँग भनेका छन् ।
“हामीलाई लगिएको जेल मानिसले खचाखच भरिएको थियो । हामीलाई दिनमा जम्मा एउटा रोटि खान दिइन्थ्यो," अर्का एकजना नेपाली कामदारले एम्नेस्टीलाई भनेका छन् "सबै मानिसलाई भुईंमा राखिएको थियो र खानालाई प्लास्टिकमा राखिएको हुन्थ्यो । भिडभाडका कारण कतिपयले त खानेकुरा थुत्न समेत सक्दैनथे ।”
स्वास्थ्य परिक्षणका लागि लगिएका ती कामदारहरूलाई ज्वरोसमेत जाँच नगरिएको उनीहरूको भनाइ छ । एम्नेस्टीको सम्पर्कमा पुगेका २० जनामध्ये तीन जनाले मात्रै हिरासतमा उनीहरूको शरीरको तापक्रम मापन गरिएको बताए । 
तलबै नदिएर निष्कासन
एम्नेस्टीका अनुसार कोभिड-१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको जनाएको छ ।
त्यस्तो कष्ट भोगेका कसैले पनि यसको कारण बारे पूर्ण जानकारी पाउन सकेका छैनन् । साथै उनीहरूले आफूले अनाहकमा भोगेको हिरासत बसाइ र रोजगारबाट भएको निष्कासन विरुद्ध कुनै निकायमा उजुरी गर्न सकेका छैनन् ।
त्यसरी निकै दिन अमानवीय हिरासतको बसाइ भोगेपछि धेरैजसोलाई नेपाल आउने विमानमा राखिएको थियो । त्यसरी विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सरसामान ल्याउन समेत दिइएको थिएन ।
केहीले त एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्कासन गर्न लागेको थाहा पाएका थिए । उनीहरूलाई २ चैत र ६ चैतमा निष्कासन गरिएको जानकारी दिइएको थियो । 
विमानमा राख्नु अघि उनीहरू कतिपयलाई आफ्नो सरसामान प्याकिङ्ग गर्नका लागि केही मिनेटको समय दिइएको थियो भने कतिले त त्यही पनि पाएनन् । “मलाई हतकडी लगाएर अपराधीलाई जस्तो व्यवहार गरियो । मलाई मेरो क्याम्पमा सामान लिनका लागि लगिएको थियो तर हतकडी लगाएको अवस्थामा मैले कसरी मेरो सरसामान जम्मा गरेर प्याकिङ्ग गर्नु ?” एकजनाले भने ।
उनीहरू कसैलाई पनि प्रहरीले आफूले भनेको नमाने वा बाहिर गुनासो गरे फौजदारी अभियोग लगाएर लामो समयसम्म हिरासतमा राख्ने धम्की समेत दिएको खुलेको छ ।
यसरी मर्कामा परेका धेरै कम श्रमिकले मात्रै आफूले काम गरेको कम्पनीबाट पारिश्रमिक पाएका छन् । तर, कतिपय पारिश्रमिक पाएका नेपालीले हिरासतमा पुगेपछि प्रहरीले कब्जा गरेको पैसा र पछि दिने भनेर फिर्ता नगरेको बताएका छन् ।
एम्नेस्टी इन्टरनेसनले कतारी अधिकारीहरूले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुर्व्यवहार गर्ने अवसरको रूपमा प्रयोग गर्नु दुःखद् भएको जनाएका छन् । आप्रवासी श्रमिकमाथि दुर्व्यवहार भन्दै एम्नेस्टीले कोभिड-१९ मानिसलाई स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने कुनै बहाना नभएको जनाएको छ ।
एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज् निर्देशक स्टिभ ककबर्नले ती व्यक्तिहरूलाई गरिएको दुर्व्यवहार बापत कतारले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्ने र उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनुपर्ने बताएका छन् । साथै रोजगारदाता कम्पनीहरूले श्रमिकले पाउनुपर्ने पारिश्रमिक लगायतका अन्य रोजगार सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग एम्नेस्टीले राखेको छ ।
तर कतार सरकारले कोभिड-१९ प्रतिकार्यको हिस्साअन्तर्गत औद्योगिक क्षेत्रमा निरीक्षण गर्ने क्रममा "गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरू फेला पारेको" प्रतिक्रिया दिएको छ ।
"यस्ता गतिविधिहरूमा मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन आदि रहेको" कतारको दाबी छ ।
यद्यपि, एम्नेस्टी इन्टरनेसनलको सम्पर्कमा आएका १८ जनाले उनीहरूलाई लगाइएको कुनै पनि आरोप वा अभियोगका बारेमा जानकारी नपाएको बताएका छन् । दुई जना अरेबिक भाषा बोल्नसक्ने श्रमिकहरूले भने आफूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको एम्नेस्टीलाई बताएका छन् ।

Comments

Popular posts from this blog

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा

बुसलाई किन जुत्ता हानेँ मैले?