को नागरिक ? कस्तो नागरिक ?



• कृष्णज्वाला देवकोटा
सप्तरीको बरमझियामा रमाइलो पेडा बजार छ, जहाँ १५–२० पसलका नाम एउटा बाजेका नाममा राखिएका छन् । जस्तो, बाजेको पेडा पसल । बाजेको पुरानो पेडा पसल । पुरानो बाजेको पेडा पसल । सक्कली बाजेको पेडा पसल । उही बाजेको सक्कली पेडा पसल । नेपालमा नागरिक समाज पनि बरमझियाको पेडा बजार भएको छ । नाम दर्ता गर्नुपर्ने भए यसका नाम यस्ता हुन सक्थे : सक्कली नागरिक समाज । उही पुरानो सक्कली नागरिक समाज । उही सक्कली नागरिक समाज ।

पछिल्ला एक महिनामा यो देशमा मनै खिन्न बनाउने थुप्रै समाचार आए । झुक्याएर मिर्गाैला बेचिएकाहरूका चिरिएका पेटका दारुण तस्बिर अखबारमा छापिए । बलात्कारको सिकार भएकी १२ वर्षीया दलित बालिकाले नानी जन्माइन् । दैलेखका एक दलितलाई राज्यको संरक्षण पाएका उच्च जातिले आफैँ सर्वोच्च अदालत बनेर ‘देशनिकाला’ गरे । वर्षौंदेखि ओडारमा जीवन धानिरहेका वृद्धको दारुण चित्रकथा छापियो । ती कोही पनि शिक्षित थिएनन् । तिनका एनजिओ थिएनन् । तिनको मिडिया हाउस थिएन । ती ‘डन’ को मुद्दामा पैसा कमाएका सर्वोच्चका वकिल थिएनन् । पढ्दै नपढेका, एउटा एनजिओ पनि नभएका, एउटा मिडिया हाउस पनि नखोलेका र कालो कोट पनि नलगाएका ती नागरिक परिभाषामा परेनन् । त्यसैले तिनका लागि कोही बोलेन । न उही पुरानो नागरिक समाज बोल्यो न उही सक्कली नागरिक समाज, न त उही पुरानो सक्कली नागरिक समाज ।

यहाँ नागरिकता भएर मात्र नागरिक मानिन्न । हैसियत छैन भने नागरिकताले तपाईंलाई बढीमा मतदाता मात्र बनाउँछ । नागरिक हुन त हैसियत पनि हुनुपर्छ । नत्र दलितलाई देश निकाला गर्नेहरू छाती खोलेर हिँड्ने र दलितका बाबु लुकिलुकी हिँड्नुपर्ने थिएन । निर्धा र निर्बलिया पनि नागरिक मानिन्थे र तिनका नाममा पनि कसैले प्लेकार्ड उठाउँथ्यो ।

त्यसै पनि नेपालमा नागरिक समाज खोज्नै गाह्रो छ । पेसागत संगठनका पोसाक सीधै पार्टी मुख्यालयमा सिलाइन्छन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएन, चिकित्सक संघ वा इन्जिनियर एसोसिएसनका उम्मेदवार पेसाकर्मीले होइन, बल्खु, पेरिसडाँडा वा सानेपा दरबारले तय गर्छन् । पेसागत संगठनमा सिन्डिकेट यति बलियो छ कि क्षमता होइन, प्रतिबद्धता जोखिन्छ । जयनेपाल, लालसलाम वा सलाम भनेर लडिएको चुनावपछि ती संगठनले कहिलेकाहीँ ‘नागरिक समाज’ पनि भइदिनुपर्छ । जब माउ पार्टीले सीधै टोक्न सक्दैन, तिनले ‘नागरिक दाँत’ निकालेर टोकिदिनुपर्छ । माउ पार्टीले सीधै ठोक्न नमिल्ने ठाउँमा तिनले ‘नागरिक हात’ निकालेर ठोकिदिनुपर्छ । यो दु:खी देशमा ‘नागरिक समाज’ का दु:ख झन् बढी छन् । ती निन्दाभन्दा सान्त्वनाका पात्र हुन् ।

नेपाल त्यसै पनि दलहरूप्रति यति धेरै प्रतिबद्ध छ कि विज्ञानले अनुमति दिने भए यहाँ मान्छेको ब्लड ग्रुप पनि माओवादी, कांग्रेस, एमाले वा मधेसवादी हुने थियो । यहाँ सामुदायिक वनदेखि सामुदायिक अस्पतालसम्मका व्यवस्थापनका चुनाव पार्टीका आधारमा लडिन्छन् । कुनै प्राथमिक विद्यालयको व्यवस्थापनको चुनाव आमचुनावभन्दा कम उत्तेजनापूर्ण हुँदैन । त्यहाँ शिक्षक जागिर खान योग्यता होइन, दलप्रतिको वफादारी चाहिन्छ । हेडमास्टर कुन पार्टीको हो भन्ने हेरेर विद्यार्थीले आन्दोलनका कार्यक्रम बनाउँछन् । स्वतन्त्र नागरिक बिचरा कार्यकर्ता त बन्न पाउँदैन, नेता कसरी बन्छ ? र, कसरी बन्छ स्वतन्त्र नागरिक समाज ? कसरी जन्मन्छ स्वतन्त्र नागरिक नेतृत्व ?

त्यसैले एकाध अपवादबाहेक नेपालका ‘नागरिक’ आन्दोलन राजनीतिक एजेन्डामा लडिएका छन् । माइतीघर मण्डलामा अहिलेसम्म बालमृत्युदर घटाउन नागरिकसभा भएको छैन । छुवाछुतजस्तो कलंकविरुद्ध कुनै नागरिक ‘अगुवा’ले प्लेकार्ड उठाएको छैन । मण्डलामा धर्ना कसैलाई सिंहासनमा बसाउन वा कसैलाई खसाउन मात्र भएको छ । सामाजिक दायित्व एनजिओको जिम्मा मानिन्छ । हात धोएर मात्र भात खानुपर्छ भन्ने प्लेकार्ड उठाउनचाहिँ अगुवाहरूलाई पैसा चाहिन्छ । कमलरी आन्दोलनकारीमाथि आइतबार र सोमबार राजधानीमै निर्घात कुटपिट गरियो तर त्यो मण्डलामा प्लेकार्ड लिने विषय मानिएन । धम्की नखानु, पिटाइ नखानु, कारबाही नखानु त बुद्धिजीवी र असरदार मान्छेको पो अधिकार त । कमलरी त कमलरी हुन्, नागरिक कसरी हुन् ? भोलि कतैबाट बजेट नआई तिनका नाममा ‘प्लेकार्ड’ कसरी उठाउने ?

हाम्रा नागरिक समाजको अर्को रमाइलो पनि छ । दलहरू बरु कहिलेकाहीँ मिल्छन् र एकै ठाउँमा सही गर्छन्, भलै भोलि फेरि सही गरेकै छैन भन्न सक्छन् । नागरिक अगुवाचाहिँ कहिल्यै मिल्दैनन् । वर्चस्व र निषेधको यति क्रूर लडाइँ नेपालमा अरू क्षेत्रमा छैन । ‘नागरिक अगुवा’ पदका लागि कहीँ जाँच दिनुपर्दैन । कुनै पुण्य पनि गर्नुपर्दैन । मिडियामा समाचार छाप्ने हैसियत भए पुग्छ । अपवादबाहेक नेपालका नागरिक समाज मिडियाले कोरलेका कुखुरा हुन् । जसले मिडियालाई मादल बनाएर मिलाएर बजाउँछ, उही अगुवा हुन्छ ।

हाम्रो राजनीतिमा दुई वर्ग छन्, पूर्णकालीन र ज्यालादारी । नागरिक समाज ज्यालादारीको कब्जामा छ । पूर्णकालीनभन्दा तिनमा अझ धेरै कुण्ठा छ । त्यसैले तिनको अभियान रचनात्मक छैन । तिनलाई कसैलाई देखाइदिनु छ, किनकि त्यसले नमस्ते फर्काएन । कसैलाई तर्साइदिनु छ, किनकि त्यसले मन्त्री वा राजदूत बनाएन । कसैलाई थर्काइदिनु छ, किनकि त्यसले कदर गरेन । जस्केलाबाट खुद्रा राजनीति गर्नेहरूले नै नागरिक आन्दोलनको जमिन कब्जा गरिरहने हो भने नागरिक समाजलाई आर्यघाटमा सेलाइदिए हुन्छ । आफ्ना कुण्ठालाई नागरिक बर्कोमुनि लुकाएर बिचरो मण्डलालाई किन दु:ख दिनु ?


Comments

Popular posts from this blog

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा

बुसलाई किन जुत्ता हानेँ मैले?