कमला ह्यारिसको आफ्नो कुनै परिचय छैन?

ह्यारिस र ओबामाका असीमित समानता 

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबीच धेरै समानता छन् । जसमा प्रमुख समानता हो, अश्वेत समुदायको प्रतिनिधित्व । त्यसैले पनि होला, जब सन् २०१९ मा कमला ह्यारिसले २०२० को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिन्, अमेरिकी सञ्चारमाध्यमहरूले उनका लागि ‘फिमेल ओबामा’ ट्यागको व्यापक प्रयोग गरे । उनलाई यो ‘ट्याग’ सन् २००९ मा पहिलोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पत्रकार ग्वेन आइफिलले बाराक ओबामामाथि लेखेको पुस्तक ‘द ब्रेकथ्रुः पोलिटिक्स एन्ड रेस इन द एज अफ ओबामा’माथि एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रयोग गरेकी थिइन् । राष्ट्रपति पदको उम्मेदवार बनेपछि भने ह्यारिस आफैँले पनि यसलाई प्रयोग गरिन् । कतिसम्म भने ग्वेनले बोलेको करिब १० वर्षपछि उक्त भिडियो क्लिपलाई ह्यारिसले चुनाव प्रचारका लागि प्रयोग गर्न आफ्नो युट्युब च्यानलमा नै राखिन् । त्योभन्दा बढी अमेरिकी सञ्चारमाध्यमहरूले उनको परिचयका रूपमा यसलाई स्थापित गराइदिए ।


यदि ह्यारिस आफैँमा क्षमतावान् हुँदैन थिइन्, उनको आफ्नै परिचय हुँदैन थियो, मिहिनेत हुँदैन थियो, विचार हुँदैन थियो र उनले प्रतिनिधित्व गर्ने समुदायको सहानुभूति हुँदैन थियो भने आज अमेरिकाजस्तो शक्तिराष्ट्र भनिएको मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित हुन असम्भव थियो । यति हुँदाहुँदै पनि राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा गर्दा उनको विजयको सम्भावनालाई अनुमान गरेर अर्का शक्तिशाली व्यक्तिसँग दाँजियो । त्यसमा पनि ह्यारिसलाई पूर्वराष्ट्रपति ओबामाकै नामको ट्याग भिराएर ‘फिमेल ओबामा’ किन भनियो त ? यसको सीधा जवाफ हो उनी अश्वेत समुदायको प्रतिनिधित्व गर्छिन् र ओबामा अश्वेत प्रथम पुरुष भएजस्तै उनी अमेरिकाको राजनीतिमा अश्वेत प्रथम महिला हुन्, जसले अमेरिकाको राजनीतिमा सफलताउन्मुख यात्रा तय गरिरहेकी छिन् ।

आफूलाई लोकतन्त्र, न्याय, स्वतन्त्रता र मानव अधिकारको संरक्षक दाबी गर्ने अमेरिकामा विभेदका अनेकौँ शृंखला, इतिहास र उदाहरण आज शक्तिसम्पन्न मुलुक भएको दाबी गरिरहँदा पनि कायमै छन् । अश्वेत जातिको मानिस भएकै कारण ज्यान गुमाउनुपरेका समाचार हप्ता या महिना बिराएर सञ्चारमाध्यममा आइरहेकै हुन्छन् । विभेद उन्मूलनको नारा लगाएर नीति निर्माण गर्ने राज्यका सुरक्षाकर्मीको गोली खाएर हरेक वर्ष कोही न कसैले अश्वेत भएकै कारण ज्यान गुमाउनुपरेको छ । महिलामाथि कार्यस्थलमा हुने विभेदका घटनाको फेहरिस्त उस्तै छ । आज पनि विभेदका यी र यस्तै विषयमा आन्दोलन चल्छ । अश्वेत नागरिकको बाँच्न पाउने अधिकारका लागि ‘ब्ल्याक लाइभ म्याटर्स’ र ‘आई कान्ट ब्रेथ’जस्ता आन्दोलन चल्छन् । 

अनुसन्धान गर्ने विभिन्न संस्थाले अमेरिकामा अश्वेत जातिमाथि पुलिस प्रशासनबाट हुने हत्याको डरलाग्दो तथ्य प्रस्तुत गरिरहेका हुन्छन् । विभिन्न अन्तर्राष्ट्रिय आँकडाहरू सार्वजनिक गर्ने संस्थामध्येको एउटा ‘स्टाटिस्टा’ले सन् २०१७ को सुरुवातदेखि २०२० को डिसेम्बरसम्म अमेरिकामा पुलिसको गोलीबाट मृत्यु हुनेको संख्या बढ्दो क्रमममा रहेको देखाउँछ । स्टाटिस्टाका अनुसार सन् २०२० मा मात्रै पुलिसको गोली लागेर ज्यान गुमाउने सर्वसाधारणको संख्या नौ सय ९९ छ, जसमध्ये दुई २६ जना अश्वेत छन् । सन् २०१९ मा एक हजार चारजनाले ज्यान गुमाएकोमा दुई सय ३५ जना अश्वेत छन् । सन् २०१८ मा नौ सय ९६ जनाले ज्यान गुमाएकोमा दुई सय नौजना अश्वेत छन् । सन् २०१७ मा नौ सय ८७ जनाले ज्यान गुमाएकोमा दुई सय २३ जना अश्वेत छन् । यस्तै डरलाग्दा तथ्यांक महिलामाथि हुने विभेदका पनि देखिन्छन् । त्यसैमा अश्वेत महिलामाथि हुने विभेदको संख्या अरूको तुलनामा बढी नै हुने गरेको देखिन्छ ।

यही कारण होला आज एउटा अश्वेत राजनीतिज्ञले चुनाव जित्दा अर्को अश्वेत नागरिकसँग जोडिन्छ । एउटा अश्वेत महिला उपराष्ट्रपतिमा निर्वाचित हुँदा अर्को अश्वेत पुरुष र उसको सफलतासँग जोडेर परिचय स्थापित गरिन्छ । मानौँ, कुनै अश्वेत नागरिक वा महिलाको आफैँमा कुनै परिचय हुँदैन । जब कि राष्ट्रपति जो बाइडेनको पनि अरू कैयौँ त्यस्ता स्थापित व्यक्तित्वसँग तुलना गर्न सकिन्थ्यो होला, तर त्यसो गरिएन ।

हुन त ओबामा र ह्यारिसबीच यसबाहेक पनि तमाम समानता छन् । उनीहरू दुवैको अध्ययनको क्षेत्र, पारिवारिक पृष्ठभूमि, राजनीतिक विचार, पेसागत अनुभव आदि केही हदसम्म मिल्छन् । यसमा पनि महत्वपूर्ण छ– उनीहरू दुवैको पहिलो हुने अवसर । साथै, उनीहरू आज अमेरिकी राजनीतिको जुन भागमा छन्, त्यो उनीहरूले प्रतिनिधित्व गर्ने समुदायको पहिलो महिला र पुरुष हुन् । 

ओबामा जीवन : विभेददेखि वैभवसम्म
पूर्वराष्ट्रपति ओबामाका बुबा अफ्रिकी अश्वेत र आमा अमेरिकी श्वेत नागरिक हुन् । केन्याको लुओ समुदायमा जन्मिएका ओबामाका बुबा छात्रवृत्तिमा पढ्न अमेरिकाको हवाई पुगेका थिए । उनको अमेरिकाकै कन्सास राज्यको विचिटा सहरको श्वेत समुदायमा जन्मिएकी अन दुन्हमसँग हवाई विश्वविद्यालयमा भेट भएको थियो । सन् १९९५ मा प्रकाशित ओबामाको आत्मवृत्तान्त ‘ड्रिम अफ माई फादर : अ हिस्ट्री अफ रेस एन्ड इन्हेरिटेन्स’मा उल्लेख गरेअनुसार सन् १९६१ मा उनीहरूको प्रेमविवाह भयो । त्यसको ६ महिनापछि ओबामाको जन्म भयो, तर अश्वेत बाबु र श्वेत आमाको प्रेमविवाह धेरै समय टिकेन । विवाह भएको दुई वर्षमा सम्बन्ध–विच्छेद भयो ।

त्यसपछि ओबामा आमासँगै रहे । बाबु उनलाई छोडेर केन्या फर्किए । आमाले त्यही विश्वविद्यालयमा अध्ययनरत इन्डोनेसियाका नागरिकसँग विवाह गरिन् । आमाले उनका नयाँ श्रीमान्सँग ओबामालाई जकार्ता लिएर गइन् । तर, ओबामाको पढाइ र हेरचाहमा समस्या आएपछि आमाले उनलाई मावली हजुरबा र आमासँग बस्न हवाई फर्काइदिइन् । हवाईमै विद्यालय भर्ना भएपछि बुबा छोटो समयका लागि हवाई आउँदा एकपटक मात्रै भेट्ने अवसर पाएको उल्लेख उनले गरेका छन् । उनले आफू पढ्ने विद्यालयमा पहिलोपटक वर्ण विभेद अनुभव गरेको बताएका छन् । उनी पढ्ने विद्यालयमा उनीलगायत तीनजना मात्रै अश्वेत वर्णका विद्यार्थी अध्ययन गर्थे । त्यहीँ उनले काला र गोरा जातिमाथि वर्णकै कारण हुने विभेद अनुभव गरेको पुस्तकमा उल्लेख गरेका छन् ।

त्यसपछि ओबामाले सन् १९७९ मा लसएन्जलसको अक्सिडेन्टल कलेजबाट स्नातक र सन् १९८३ मा न्युयोर्कको कोलम्बिया युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा डिग्री हासिल गरे । त्यसपछि सन् १९९१ मा हार्वडबाट कानुनसम्बन्धी अध्ययन गरे । हार्वडमा कानुनसम्बन्धी अध्ययन गर्ने क्रममा उनी हार्वड ल रिभ्युका सम्पादक बने । उक्त जर्नलको सम्पादक हुने उनी पहिलो अफ्रिकन–अमेरिकन नागरिक थिए । त्यसपछि उनले सिकागो युनिभर्सिटीको ल स्कुलमा पार्टटाइम अध्यापन र एउटा ल फर्ममा समेत काम गरे । त्यतिवेला उनी मानव अधिकारवादी कानुन व्यवसायीका रूपमा अभ्यास गरिरहेका थिए । सोही क्रममा भेट भएकी मिचेल रोबिन्सनसँग प्रेमपश्चात् उनले विवाह गरे ।

सन् १९९२ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार बिल क्लिन्टनको चुनावी अभियन्ता बने । सन् १९९६ बाट इलिनोइस राज्यको सिनेटरमा चुनाव लडेर आफ्नो राजनीतिक जीवनको सुरुवात गरे । त्यसपछि सन् २००० को चुनावमा उनी अमेरिकन हाउस अफ रिप्रिजेन्टेटिभमा उठेर पराजित भए । सन् २००१ मा अमेरिकाको ट्विन टावरमा भएको आतंकवादी हमलापछि ओबामाले राष्ट्रपति जर्जडब्लु बुसको इरानसँग युद्ध गर्ने नीतिको विरोध गरेर चर्चा बटुलेका थिए । सन् २००२ देखि अर्को निर्वाचनका लागि तयारी गरेका उनले २००४ मा भने सिनेटमा जित हासिल गरे । उक्त चुनावमा उनले करोडपति व्यापारीहरू ब्लेयर हुल र ड्यानियल हेन्सलाई ५२ प्रतिशत मतसहित पराजित गरे । त्यसपछि सन् २००८ को चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी दिएका ओबामा अमेरिकी राष्ट्रपति हुने पहिलो अफ्रिकी–अमेरिकी बने । उनले सन् २००९ देखि लगातार दुई कार्यकाल अमेरिकाको राष्ट्रपति पद सम्हाले । 

भारतीय आप्रवासी आमासँग हुर्केकी ह्यारिस
कमलादेवी ह्यारिस अमेरिकामा उपराष्ट्रपति हुने पहिलो अश्वेत मात्रै होइन, पहिलो महिला र पहिलो इन्डो–अमेरिकनसमेत हुन् । उनका बाबु डोनाल्ड ह्यारिस क्यारेबियन मुलुक जमाइकामा जन्मिएका हुन् भने उनकी आमा डा. स्यामला गोपालन भारतीय मूलकी हुन् । स्तन क्यान्सरसम्बन्धी अनुसन्धानकर्ता स्यामला र इकोनोमिक्स एट स्ट्यान्फर्डका अवकाशप्राप्त प्रोफेसर डोनाल्डको क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा भेट भएको थियो । यी दुईले सन् १९६२ मा विवाह गरे । कमला र उनकी बहिनी माया जन्मिएपछि सन् १९७२ मा दुईले सम्बन्ध विच्छेद गरे ।

बाबुआमाको सम्बन्ध–विच्छेदपछि कमला र बहिनी मायाको सम्पूर्ण जिम्मेवारी आमा गोपालन एक्लैले पूरा गरिन् । सम्बन्ध–विच्छेदपछि गोपालनले अमेरिकाको अश्वेत संस्कृतिलाई अंगीकार गरेर आफ्ना छोरीहरूलाई हुर्काइन् । ‘मेरो आमाले आफूले अश्वेत छोरीहरू हुर्काइरहेकी छु भन्ने राम्रोसँग बुझेकी थिइन्,’ कमलाले आफ्नो आत्मवृत्तान्त द ट्र्युथ वी होल्डमा उल्लेख गरेकी छन्, ‘छोरीहरू आफू अश्वेत भएकोमा गर्व गर्ने र आफ्नो पहिचानमा आत्मविश्वास कायम राख्ने बनाउने आमाको प्रतिबद्धता थियो ।’ कमलाले आमाको ‘एक्टिभिजम’बाट नै आफ्नो अधिकारबारे चेतना पाएको बताएकी छिन् । ‘मैले आमाबाटै अश्वेत र महिला हुनु कति पीडादायिक हो भन्ने बुझ्ने अवसर पाएँ । त्यसैले मलाई उत्पीडित मानिसको अधिकारको पक्षमा बोल्न सिकायो,’ उनले भनेकी छिन् ।

हावर्ड विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक गरेपछि कमलाले ह्यास्टिङ कलेजबाट कानुनमा डिग्री हासिल गरिन् । कानुनसम्बन्धी अध्ययन सकाएपछि उनले यही पेसामा रहेर लामो समय काम गरेकी छिन् । त्यसपछि सन् १९९० देखि १९९८ सम्म ओक्ल्यान्डमा जिल्ला सहन्यायाधिवक्ता भएर काम गरेकी उनी सन् २००४ मा न्यायाधिवक्ता भइन् । सन् २०१० मा क्यालिफोर्निया राज्यमा न्यायाधिवक्ताको पद सम्हालिन् । यो पद सम्हाल्ने उनी पहिलो महिला र पहिलो अफ्रिकन–अमेरिकन बनिन् ।

त्यसपछि सन् २०१५ बाट सक्रिय राजनीतिमा लागेकी उनी २०१६ को निर्वाचनमा जितेर सिनेटमा पुग्ने पहिलो इन्डो–अमेरिकन र दोस्रो अश्वेत महिला बनिन् । त्यसपछि सन् २०२० को राष्ट्रपति चुनावका लागि उनले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी घोषणा गरेकी थिइन् । तर, प्रारम्भिक चरणमा पछाडि परेपछि उनले राष्ट्रपति जो बाइडेनलाई समर्थन गरिन् । राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएपछि बाइडेनले कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाए । अहिले उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो इन्डो–अमेरिकन र अश्वेत महिला बनेकी छिन् ।

नयाँ पत्रिकामा प्रकाशित सामग्री

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग