नेपालको आन्तरिक मामिलामा किन बोल्छ चीन ?

 नेपालको आन्तरिक मामिलामा मौन रहने भन्ने छवी बनाएको चीन पछिल्ला केहि वर्ष यता यो मौनता तोडेर बाहिर निस्किन थालेको छ । कुटनीतिक मामिलाका जानकारहरु यसले स्वयं चीनका वारेमा नेपाली जनमानसमा नकारात्मक दृष्टिकोण बन्ने खतरा औल्याउँछन् ।

वाङ वेनबीन

१० असार, काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको विषयमा चीनको विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ ।

यसअघि अमेरिकाकै परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालको सदनबाट अनुमोदन गराउने विषयमा पनि चीनले यसैगरी आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले ‘एसपीपीलाई नेपाल सरकार मन्त्रिपरिषद्ले अस्वीकार गर्ने निर्णय प्रशंसनीय भएको र त्यो चीनको जानकारीमा रहेको’ बताए ।
‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ प्रवक्ता वेनबीनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराको चीनले सधैं समर्थन गर्नेछ ।’

यससँगै उनले क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्नसमेत चीन तत्पर रहेको बताए ।

चीनले नेपालको अन्य मुलुकसँगको सम्बन्धलाई लिएर बोलेको यो पहिलो पटक होइन । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उसले यस्ता मामिलामा प्रतिक्रिया जनाउने गरेको छ । अघिल्लो महिना अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डका जर्नेल चार्ल्स एन्थोनी फ्लिन नेपाल भ्रमणमा रहेका बेला एसपीपीमा हस्ताक्षरका लागि दबाव दिइरहेको चर्चा थियो । भारत हुँदै नेपाल आएका फ्लिनले यहाँका राजनीतिक र सैन्य नेतृत्वसँग भेटघाट गरेका थिए भने नेपाली सेना अमेरिकाका लागि भरपर्दो स्थल सेना भएको अभिव्यक्ति समेत दिएका थिए ।

सोही बेला एसियाली सुरक्षा सम्मेलनका लागि सिंगापुर पुगेका चिनियाँ रक्षामन्त्री वे फेङ्हीले अमेरिकाले आईपीएसमार्फत चीनलाई घेर्ने रणनीति बनाइरहेको अभिव्यक्ति दिएका थिए । यद्यपि, उनले पछि अमेरिकी समकक्षी लोयड अस्टिनसँगको भेटमा ताइवानलाई चीनबाट छुट्याउने प्रयत्न भए सैन्य शक्ति प्रयोग गर्ने बताएका थिए । एसपीपी आईपीएसको अंग भएको र नेपाललाई अमेरिकाले दबाव दिइरहेको विषय सार्वजनिक हुँदै गर्दा चिनियाँ रक्षामन्त्रीको उक्त अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

तर, त्यसअघि पनि चीनले नेपालसँग सम्बन्धित मामलालाई लिएर बोलेको अर्को विषय हो, एमसीसी । एमसीसीलाई नेपालको संसदमा लैजाने विषयमा विवाद जारी रहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ता वेनबीनले नै त्यतिबेला अमेरिका ‘बलजफ्ती कूटनीति’ गरिरहेको भन्दै त्यसको विरोध गर्ने जनाएका थिए ।

‘अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्र विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीन स्वागत गर्छ,’ प्रवक्ता वेनबीनले भनेका थिए, ‘तर, यो नेपाली जनताको चाहना र राजनीतिक सर्त विना हुनुपर्छ ।’
उनले त्यति मात्रै भनेनन्, नेपाली जनताको इच्छा प्रदर्शन हुनुलाई समर्थन गर्ने समेत भनेका थिए । ‘नेपालको असल छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासपथ छनोट गर्न सहयोग जारी राख्छ । आफ्नो देशको हित अनुकूल निर्णय लिन जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन गर्छौं,’ उनले भनेका थिए ।

विरोध प्रदर्शन जारी रहेकै बेला ‘जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन गर्छौं’ भनी दिएको अभिव्यक्तिलाई त्यतिबेला निकै अर्थपूर्ण रूपमा हेरिएको थियो । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि कतिपयले एमसीसी विरुद्ध आन्दोलन गराउन चीनको सहयोग हुनसक्ने आरोप समेत लगाएका थिए । अमेरिकाले वक्तव्य नै जारी गरेर कडा प्रतिक्रिया दिएको थियो ।

यद्यपी, एमसीसी पारित हुनुपूर्व विरोध प्रदर्शन हुनुका पछाडि अमेरिकाको बाक्लो चहलपहलले बढी भूमिका खेलेको थियो । अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुन २०७८ सम्म समय दिएको थियो ।

तर, दलहरूबीच सहमति जुट्न नसकेपछि २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर आफ्नो अनुदान सहयोग स्थगित गराएको बुझ्ने चेतावनी दिएका थिए ।

निकै ठूलो रस्साकस्सीका बीच एमसीसी सदनबाट पारित भएपछि पनि चीनले प्रतिक्रिया जनाएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेनबीनले नेपालको संसदबाट भएको व्याख्यात्मक घोषणालाई ‘नोट गरेको’ प्रतिक्रिया दिएका थिए । उनले संसदको व्याख्यात्मक घोषणा अनुसार नेपालको संविधानको प्रभाव एमसीसीभन्दा माथी रहने जानकारी आएको भन्दै एमसीसीका कारण अमेरिकाको हिन्द प्रशान्त रणनीतिको सैन्य र सुरक्षा गठबन्धनमा नेपाल नरहने गरी ब्याख्या भएको बताएका थिए ।

‘नेपालले एमसीसी परियोजनामा मात्रै अमेरिकाको नीति र कानूनलाई सम्मान गर्ने छ । नेपालमा अमेरिकाको कारवाही नेपालको कानुनद्वारा नियन्त्रण र अनुगमन गरिने छ भन्ने जानकारी हामीले पाएका छौँ,’ उनले भनेका थिए । उनले नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका हिसाबले चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकासको बाटो छनौट गर्न निरन्तर समर्थन दिने समेत दोहोर्‍याएका थिए ।

किन बोल्छ चीन ?

अहिले विश्वमा अमेरिका र चीन बीच तीव्र प्रतिस्पर्धा छ र यी दुई प्रतिद्वन्द्वी देखिन्छन् । आफ्नो छिमेकमा अमेरिकाले बढाइरहेको चासोलाई चीनले त्यही ढंगले बुझ्ने गरेको उसका अभिव्यक्तिमा झल्किने गरेको छ । पछिल्लो समय नेपालको विषयमा चीन र अमेरिकाले एकअर्काको नाम लिएरै टिप्प्णी गर्ने गरेका छन् । अहिले नेपाल सरकारले विवादास्पद बनेको एसपीपीमा नरहने निर्णय गर्दा पनि चीनले मुख खोलेको छ ।

यसलाई नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चीनले आफ्नो सीमाना जोडिएको मुलुकमा भइरहेका गतिविधिलाई गम्भीरतापूर्वक लिएको भनेर बुझ्नु पर्ने बताउँछन् । ‘एसपीपीका नाममा एक प्रकारको सैनिक गठबन्धन बनाउने र चीनसँग सीमाना जोडिएको नेपालको हिमाली भू–भागमा केन्द्रीत भएको कुरालाई उसले गम्भीरतापूर्वक लिएको रहेछ भन्ने देखिन्छ,’ रिजाल भन्छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वेनबीनले आफ्नो वक्तव्यमा नेपालले एसपीपीलाई अस्वीकार गर्दाको घटनाक्रमलाई उल्लेख गर्दै असंलग्न परराष्ट्र नीतिको समेत व्याख्या गरेका छन् ।

‘विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना तथा आम नागरिकले एसपीपी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजीसँग जोडिएको र यो नेपालले लामो समयदेखि अंगिकार गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरीत हुने रूपमा बझेका छन्,’ उनले भनेका छन्, ‘त्यसैले नेपाल सरकारको मन्त्रिपरिषदले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको छ ।’

प्रवक्ता वेनबीनले भनेजस्तै नेपालमा एसपीपीको विषयमा विरोध नभएको होइन । संसद र सडकबाट मात्रै होइन सेनाले समेत एसपीपी सैन्य गठबन्धन भएकाले त्यसमा नेपाल रहन नहुने आवाज उठाएको थियो । एसपीपीको व्यापक विरोध हुन थालेपछि नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुएल पी मिकलरले नेपाल सहभागी हुन नचाहे जानकारी गराएर बाहिरिन सक्ने बताएका थिए ।

उनले सन् २०१५ र सन् २०१७ मा दुईपटक सहभागी हुनका लागि पत्राचार गरेपछि अमेरिकाले सन् २०१९ मा नै नेपाललाई एसपीपीमा राखिसकेको जानकारी दिएका थिए । त्यसपछि नेपाली सेनाले एसपीपी अमेरिकाको सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) को अंग भएको र नेपाल त्यसमा सहभागी हुन नहुने सुझाव दिएको थियो ।

साथै, सदनमा प्रमुख प्रतिपक्षी र सत्तारुढ दलकै सांसदले एसपीपीमा सहभागी हुन नहुने भन्दै व्यापक विरोध गरेका थिए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्र तथा रक्षा सचिवलाई बोलाएर छलफल गरेको थियो भने एसपीपीमा नरहने भनी पत्राचार गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि सरकारले मन्त्रिपरिषद्बाट एसपीपीलाई अस्वीकार गर्न पत्र लेख्ने निर्णय गरेको थियो ।

तर, चीनले त्यतिबेला प्रतिक्रिया जनाएको छ जतिबेला नेपालले एसपीपीमा नरहने भनेर पत्राचार गर्ने निर्णय गरे पनि कार्यन्वयनमा गइसकेको छैन । सरकारले मन्त्रिपरिषद्बाट कूटनीतिक च्यानलमार्फत अमेरिकालाई एसपीपीमा सहभागी नहुने व्यहोराको पत्राचार गर्ने निर्णय गरे पनि अहिलेसम्म जानकारी कहिले र कसरी गर्ने भन्ने समेत टुंगो लागि सकेको छैन । कसरी गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै अलमलमा परेको अवस्था छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक खड्ग केसी चीनले यस्तो बेलामा दिएको प्रतिक्रिया उपयुक्त नभएको ठहर गर्छन् । ‘चीनले नेपालको आन्तरिक मामिलामा यहाँको राजनीतिक नेतृत्वले के गरेर कति इमान्दार भए भन्ने हाम्रो आन्तरिक मामला हो । यस विषयमा चीनले बोलेर राम्रो गरेन,’ उनी भन्छन् ।

चौतर्फी विरोध भएपछि सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको भन्दै प्राध्यापक केसी यसमा बाह्य दबावले नभई जनमतले काम गरेको तर्क गर्छन् । ‘वैधता दिने भनेको जनतमले हो । हाम्रो नीति निर्माणको तहबाट नै निर्णय लिने काम भयो,’ केसी भन्छन्, ‘त्यो भन्दा ठूलो अरू कुनै विकल्प हुन सक्दैन । एसपीपीको विषयमा पनि धेरै ठाउँबाट प्रश्न उठेपछि सरकारले अस्वीकार गर्ने निर्णय गर्‍यो । यो ठीकै भएको छ ।’ उनी एउटा मुलुकको मामलमा अर्को मुलुकको कार्ड खेल्ने काम गर्न नहुने बताउँछन् ।

यसै पनि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध सञ्चालन असन्तुलित हुँदै गएको भनेर चौतर्फी प्रश्न उठिरहेको छ । यहीबेला नेपालको अन्य मुलुकसँगको सम्बन्धलाई लिएर चीनले पटकपटक प्रतिक्रिया जनाउने गरेको छ ।

परराष्ट्र मामलाका जानकार चन्द्रदेव भट्ट यसलाई एक प्रकारको हस्तक्षेपका रूपमा अथ्र्याउँछन् । ‘यो चीनले बोल्नै नपर्ने विषय हो । त्यो पनि एक किसिमको हस्तक्षेप हो,’ उनी भन्छन्, ‘पछिल्लो समय चीनले जुन किसिमले क्षेत्रीय मामलाहरूमा बोलिरहेको छ त्यसमा परिपक्वता छैन भन्ने देखिन्छ । त्यसले उसैलाई ब्याक फायर भइरहेको छ ।’

भट्ट चीन उसको छिमेकका देशको राष्ट्रियता र स्वाधिनताको रक्षा गर्ने नाममा आफूलाई ‘ग्लोबल पावर’ हो भनेर सन्देश दिन खोजिरहेको बताउँछन् ।

तर, एमाले नेता रिजाल यसलाई आपत्तिको विषय बनाउन आवश्यक नरहेको तर्क गर्छन् । ‘चीनले नेपाल सरकारको निर्णयलाई स्वागत गरेको छ । के आधारमा गरेको हो भन्ने उसैको विषय हो । यसमा धेरै आपत्ति मान्नुहुन्न,’ उनी भन्छन्, ‘किनभने, नेपालले गरेको निर्णयको उसले समर्थन गरेको हो । त्यसैले यो अरू विषय भन्दा फरक छ ।’ चीनले हाम्रो निर्णयभन्दा पहिले यो गर, यो नगर वा एसपीपीमा जान हुँदैन भन्ने अभिव्यक्ति दिएको भए त्यो विवादको विषय हुनसक्ने रिजालको भनाइ छ ।

अनावश्यक अभिव्यक्ति चीनका लागि प्रतिउत्पादक

नेपालमा केही समयअघिसम्म चीन नेपालको आन्तरिक मामिलामा अनावश्यक चाँसो राख्दैन र हस्तक्षेप पनि गर्दैन भन्ने मान्यता थियो । दक्षिणी छिमेकी भारत र मित्रराष्ट्र अमेरिकाले यहाँ ‘माइक्रो म्यानेज’ गर्न खोजेको आरोप लाग्थ्यो । चीन मौन प्रायः रहने हुँदा कूटनीतिक वृत्तमा मात्रै होइन आम जनमानसमा पनि सकारात्मक धारणा थियो ।

तर, ०७४ सालको आम निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणदेखि विभाजनसम्म चीनको भूमिका बढेको भन्दै आलोचना भएको थियो । त्यसपछि एमसीसी हुँदै एसपीपीसम्म आइपुग्दा चीन पनि नेपालमा अस्वभाविक ‘इंगेजमेन्ट’ बढाइरहेको आरोप लाग्ने गरेको छ ।

प्राध्यापक केसी यस्तो शैलीले स्वयं चीनलाई समेत फाइदा नहुने तर्क गर्छन् । ‘यसरी बोल्दै जाँदा चीन आफैंलाई पनि बेफाइदा हुन्छ । चीन नेपालको राजनीतिक तथा आन्तरिक मामलामा धेरै ‘इंगेज’ हुँदैन भन्ने मान्यता नेपालमा छ । यसरी अनावश्यक हिसाबले बोलिरहँदा त्यो जनमतमा नकारात्मक प्रभाव पर्छ,’ उनी भन्छन्, ‘यसले चीनलाई हेर्ने हाम्रो दृष्टिकोणमा नै बदलाव आउनसक्छ ।’ उनी नेपालले सबै छिमेकी र मित्र राष्ट्रसँग समदूरीको सम्बन्ध राख्न चाहेको छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी भएको बताउँछन् ।

नेपालले कुनै एउटा राष्ट्रको चासो र हस्तक्षेपको विरोध गर्नुको मतलब अर्को राष्ट्रको त्यस्तै व्यवहार स्वीकार गर्छौँ भन्ने नभएको भन्दै त्यसलाई चीनले बुझ्नु पर्ने प्राध्यापक केसीको धारणा छ ।

चीन उदयीमान विश्व शक्ति राष्ट्र हो भने त्यसको तीव्र प्रतिस्पर्धा अमेरिकासँगै चलिरहेको छ । यससँगै पछिल्लो समय विश्व राजनीति पनि दुईवटा ध्रुवमा विभाजित भइरहेको विश्लेषण हुन थालेको छ । यस्तो अवस्थामा शक्ति राष्ट्रहरूबीच विश्वव्यापी, क्षेत्रीय र दिपक्षीय रणनीति बन्नु र कार्यन्वयनको प्रयास हुनु अस्वभाविक होइन ।

तर, त्यसमा नेपाल जस्तो असंलग्न परारष्ट्र नीतिको पक्षधर मुलुकलाई जोड्नुलाई सकरात्मक रूपमा लिन नसकिने प्राध्यापक केसी बताउँछन् । ‘त्यो उनीहरूको आन्तरिक मामला हो । त्यसमा हामीलाई जोडेर बोल्दा सद्भाव देखाएजस्तो देखिए पनि कूटनीतिक हिसाबमा सकरात्मक हुन सक्दैन,’ उनी भन्छन्, ‘यो कुरालाई चीनले बुझेको राम्रो । भारत, अमेरिका वा चीन जसले यस्तो गर्दा पनि हाम्रा लागि उचित हुँदैन ।’

विश्व राजनीतिमा देखिएको ध्रुविकरणको छायाँबाट नेपाल पूरापूर अलग रहन सम्भव हुँदैन । तर, मुलुकको आन्तरिक परराष्ट्र नीतिका आधारमा समर्थन र विरोधका पाटाहरू तय गर्न सकिन्छ । यस्तो अवस्थामा छिमेकी चीन र भारत मात्रै होइन अमेरिका पनि उत्तिकै महत्वपूर्ण मित्रराष्ट्र भएको भन्दै परराष्ट्र विज्ञ भट्ट यस विषयमा चीनलाई आन्तरिक मामलामा नबोल्न आग्रह गर्नुपर्ने बताउँछन् । ‘चीनको कूटनीतिक नियोगलाई यस विषयमा हामीले अन्य मुलुकसँगको सम्बन्धलाई लिएर नबोल्न आग्रह गर्नुपर्छ । होइन भने, हाम्रा सबै मामलामा उनीहरू यसरी नै बोल्न थाल्छन् र अरूसँगको सम्बन्धमा समस्या उत्पन्न हुन्छ,’ उनी भन्छन् ।

अनलाइखबरमा प्रकाशित सामग्री

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग