अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा

 रिचर्ड एन. हास

सन् २००३ मा इराक आक्रमणपछि सद्दाम हुसेनको तस्वीर अगाडि बसिरहेका अमेरिकी सैनिक । Pic:CFR/Getty Image

पत्रकारको तुलनामा इतिहासकारसँग समयको चिन्ता गर्नु नपर्ने एउटा सुविधा हुन्छ । इतिहासकारलाई घटना घटेको समय र त्यस बारे लेख्ने समय बीचको केही वर्ष वा दशकको समय उपलब्ध हुन्छ । ऐतिहासिक पाटोबाट हेर्दा बीस वर्ष पक्कै पनि धेरै समय होइन । तर मार्च २००३ मा अमेरिकाले इराकविरुद्ध सुरु गरेको युद्धलाई बुझ्नका लागि यो पनि हाम्रा लागि पर्याप्त हुन्छ ।

रिचर्ड एन. हास/Pic:Invesco

विना संकोच, युद्ध सुरु भएको दुई दशक बितिसक्दा पनि यसको विरासतलाई लिएर एकमत छैन । यो अपेक्षित पनि हो । किनभने, सबै युद्धहरू तीन पटक लडिन्छन् । पहिले, युद्धमा जाने निर्णयलाई लिएर राजनीतिक र घरेलु संघर्ष हुन्छ । त्यसपछि, वास्तविक युद्ध हुन्छ, जुन मैदानमा लडिन्छ । अन्त्यमा, युद्धको महत्वमाथि लामो बहस हुन्छ । जहाँ युद्धमा भएको लगानी र त्यसबाट प्राप्त फाइदाको तुलना हुन्छ । साथै, युद्धको सिकाई बारे छलफल हुन्छ र भावि रणनीति तय गरिन्छ ।

इराकमाथि हस्तक्षेपको निर्णय 

इराक युद्धमा जाने अमेरिकी निर्णयलाई निम्त्याउने त्यो घटना र अन्य कारकहरू अहिले अपारदर्शी र निकै विवादको विषय बनेका छन् । युद्ध दुई प्रकारका हुन्छन्ः एउटा आवश्यकताको र अर्को छनौटको ।

अत्यावश्यक युद्ध तब लडिन्छ जब महत्वपूर्ण स्वार्थको रक्षा गर्ने अन्य कुनै विकल्पहरू बाँकी रहँदैनन् । छनौटको युद्ध यसको ठीक विपरित अवस्थामा लडिन्छ । कम महत्वका चासोहरू हुँदा पनि हस्तक्षेप गरिन्छ । जबकी त्यहाँ सैन्य बल प्रयोग नरिकनै स्वार्थ संरक्षण वा प्रवद्र्धन गर्न अन्य विकल्पहरू बाँकी रहन्छन् । जस्तो कि युक्रेनमा रुसको आक्रमण छनौटको युद्ध हो । युक्रेनलाई आफ्नो क्षेत्रको सशस्त्र रक्षा गर्नु एक आवश्यकता हो । 

इराक युद्ध अमेरिकी छनौटको पुरातन ढर्रा थियो । जुन युद्ध अमेरिकाले लड्नु पर्ने थिएन । यद्यपि, यो मूल्याङ्कनसँग सबै सहमत छैनन् । 

त्योबेला इराकसँग सामूहिक विनाशकारी हतियार (डब्लूएमडी) रहेको र ती हतियार आतंकवादीहरूसँग मिलेर प्रयोग गर्न सक्ने त्रास उत्पन्न भएको केहीको तर्क छ । युद्धका समर्थकहरू कथित इराकी सामूहिक विनाशकारी हतियार तह लगाउनका लागि अमेरिकासँग अन्य गतिला विकल्पहरू थिए भन्ने कुरामा अलिकति पनि विश्वास थिएन भनेर समेत बचाउ गर्छन् ।

यसबाहेक, ११ सेप्टेम्बर, २०११ मा भएको आतंकवादी हमलापछि सम्भावित कुनै पनि जोखिम सहन गर्ने अमेरिकाको अनिच्छा पनि झल्किन्छ । अलकायदा वा अन्य आतंकवादी समूहहरू आणविक, रासायनिक वा जैविक हतियारमार्फत अमेरिकामाथि आक्रमण गर्न सक्छन् भन्ने आंकलन स्वीकार्य थिएन । विशेष गरी तत्कालीन उपराष्ट्रपति डिक चेनी यस्तो धारणा बनाउने र राख्ने प्रमुख पात्र थिए ।

तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुश र उनका अधिकांश वरिष्ठ सल्लाहकारहरू पनि इराक युद्धलाई नयाँ र उत्कृष्ट विदेश नीति अख्तियार गर्ने अवसरको रूपमा लिइरहेका थिए । उनीहरू ९÷११ को घटनापछि अमेरिका विश्वमा रक्षात्मक होइन, एक विशाल शक्तिशाली राष्ट्र पनि हो भन्ने सन्देश दिने चाहन्थे ।

ट्वीन टावर आक्रमण गर्ने आतंकवादी अलकायदालाई अफगानस्तिानमा सुरक्षित आश्रय दिने तालिबान सरकारलाई आक्रमण गरेर हटाउनु अमेरिकाका लागि अपर्याप्त प्रगति मानिएको थियो । साथै, बुश प्रशासनका धेरै व्यक्तिहरू सिंगो मध्यपूर्वमा लोकतन्त्र ल्याउने इच्छाबाट प्रेरित थिए । त्यसका लागि इराक प्रवेशद्वार हुने कल्पना गरिएको थियो । इराकमा प्रजातन्त्र स्थापना गरेर उदाहरण पेस गरेपछि सो क्षेत्रका अन्य मुलुकहरू त्यसको अनुसरण गर्न बाध्य हुनेछन् र प्रतिरोध गर्न असमर्थ हुनेछन् भन्ने बुश प्रशासनको बुझाई थियो । बुश स्वयम पनि केही न केही ठूलै साहसीक कदम चाल्न चाहन्थे ।

त्यसबेला म राज्यको नीति योजना कर्मचारी विभागको प्रमुखको हैसियतमा बुश प्रशासनको एउटा हिस्सा थिएँ भन्ने स्पष्ट पार्नु पर्छ । मैले पनि मेरा अन्य सहकर्मीहरू जस्तै सद्दाम हुसेनसँग डब्ल्यूएमडी अर्थात्, रासायनिक र जैविक हतियारहरू छन् भन्ने नै सोचेको थिएँ । तैपनि म युद्धमा जाने पक्षमा थिइनँ ।

मलाई त्योबेला सिरियामा इराकको तेल पाइपलाइन काट्ने र जोर्डन तथा टर्कीमा उसको तेल निर्यातको प्रक्रियामा अवरोध गर्ने विकल्पहरूमा जान सकिन्छ भन्ने लागेको थियो । त्यसो गर्दा सद्दामलाई हतियार भण्डारण क्षेत्रमा निरीक्षकहरूलाई प्रवेश गर्ने अनुमति दिनुपर्ने महत्वपूर्ण दबाब सिर्जना गर्न सकिन्थ्यो । यदि उनले निरीक्षणलाई अवरोध गरेको भए अमेरिकाले त्यो बाटो खोल्नका लागि पनि केही सीमित आक्रमणहरू सञ्चालन गर्न सक्छ भन्ने मेरो मान्यता थियो ।

म विशेष गरी सद्दाम हुसेन आतङ्कवादी व्यवसायमा प्रवेश गरेकोमा चिन्तित थिइनँ । धर्मनिरपेक्ष इराकलाई फलामे मुट्ठीभित्र शासन गरिरहेका सद्दामले धार्मिक आतंकवाद (इरानी समर्थनमा वा समर्थन विना नै) लाई आफ्नो शासनको लागि सबैभन्दा ठूलो खतरा मानेका थिए । सद्दाम पनि ती हतियार आतंककारीहरूलाई सुम्पने व्यक्ति थिएनन्, किनकि उनी इराकसँग जोडिएको कुनै पनि विषयमा कडा नियन्त्रण राख्न चाहन्थे ।

यसबाहेक, मलाई आर्थिक, राजनैतिक र सामाजिक पूर्वाधारहरूको धेरै हदसम्म अभाव भएकाले इराक वा त्यो पूरै क्षेत्र लोकतन्त्रका लागि परिपक्व भइसकेकोमा गहिरो आशंका थियो । प्रजातन्त्र स्थापना गर्न लामो समयसम्म ठूलो मेहनत र उस्तै सैन्य नियन्त्रको आवश्यक्ता हुन्छ । जुन इराक वा त्यो क्षेत्रमा महँगो र अमेरिकामा विवादास्पद साबित हुने सम्भवाना मैले पहिल्यै देखिसकेको थिएँ ।

असफल प्रयास

प्रारम्भिक चरणमा अपेक्षा गरेभन्दा धेरै छिटो युद्ध भयो  । मार्च महिनाको मध्यमा आक्रमण सुरु गरेपछि इराकी सेनालाई परास्त गर्न लगभग छ हप्ता मात्र लाग्यो । बुशले मे महिनासम्म मिशन पूरा भएको दाबी गर्न सक्थे । जसको अर्थ सद्दामको सरकार हटाइएको र कुनै पनि संगठित, सशस्त्र विपक्ष नरहेको भन्ने हुन्थ्यो ।

तर सरकार मात्रै हटाउन पठाइएको अमेरिकी सेना युद्ध जित्न सक्ने भन्दा बढी क्षमताको भए पनि शान्ति कायम गर्न भने सकेन । आक्रमणको योजना बनाउँदा इराकीहरूले अमेरिकी सेनालाई मुक्तिदाताको रूपमा स्वागत गर्नेछन् भनिएको थियो । तर, त्यो केही हप्ताको लागि सत्य साबित भएपछि त्यसपछि परिस्थति उस्तै रहेन ।

बुश प्रशासनले आवश्यक गृहकार्य नगरीकनै इराकमा लोकतन्त्र स्थापना गरेको भनेर फाइदा उठाउन चाहन्थे । अझै खराब कुरा के छ भने, पूर्व इराकी शासनका सुरक्षा संयन्त्रहरू भङ्ग गर्नुका साथै सत्तारुढ बाथ पार्टीका सदस्यलाई समेत राजनीतिक र प्रशासनिक भूमिकाहरूबाट अलग गरियो । यद्यपि, सद्दामको शासन कालमा रोजगारीका लागि प्रायः पार्टीको सदस्यता अनिवार्य गरिएको थियो ।

त्यसले इराकको स्थिति अपेक्षा गरिएजस्तै द्रुत गतिमा बिग्रियो । लुटपाट र हिंसा सामान्य भयो । विद्रोही आन्दोलन हुनुका साथै सुन्नी र शिया मिलिशियाहरू बीचको गृहयुद्धले त्यहाँको अस्थायी व्यवस्थालाई ध्वस्त बनाइदिो । त्यसपछि, २००७ सम्म पनि परिस्थितिलाई सुधार गर्ने काम सुरु भएन । अमेरिकाले थप ३० हजार सेना इराकमा तैनाथ गर्यो । त्यसको चार वर्षपछि मात्रै बुशका उत्तराधिकारी बाराक ओबामाले इराकी सरकारसँग बिग्रिएको राजनीतिक सम्बन्धको सामना गर्दै अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरे ।

गलत आंकलन 

युद्धको नतिजा अत्यधिक नकारात्मक आयो । हो, आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गर्ने र आफ्ना दुई छिमेकीहरू विरुद्ध युद्ध सुरु गर्ने भयानक तानाशाहलाई हटाइयो । यी सबै त्रुटिहरूका बाबजुत पनि इराक आज त्यो भन्दा राम्रो अवस्थामा छ । लामो समयदेखि सताइएका कुर्दिस अल्पसंख्यकले पहिले अस्वीकार गरेको स्वायत्तता प्राप्त गरेका छन् ।

तर यसको लागत सूची धेरै लामो छ । इराक युद्धले लगभग २ लाख इराकी नागरिक र ५६ हजार अमेरिकी सैनिकको ज्यान लिएको छ । अमेरिकाको २ ट्रिलियन डलर अमेरिकी पैसा खर्च भएको छ । यस युद्धले छिमेकी इरानलाई फाइदा पु¥यायो भने यस क्षेत्रको शक्ति सन्तुलनलाई बिगार्यो । इरानले इराक बाहेक सिरिया, लेबनान र यमनमा आफ्नो प्रभुत्व बढाएको छ ।

संयुक्त राष्ट्र संघको स्पष्ट समर्थन बिनै केही साझेदारसँग मात्र लड्ने निर्णयबाट गरिएको युद्धले अमेरिकालाई एक्लो बनायो । त्यसैको परिणाम लाखौं अमेरिकीहरूले हालैका वर्षहरूमा लोकप्रियतावादी र अलगाववादी विदेश नीतिका पक्षधरहरूलाई मद्दत गर्दै आफ्नो सरकार र अमेरिकी विदेश नीतिप्रति मोहभंग भएको स्पष्ट सन्देश दिए ।

अन्ततः युद्ध महँगो साबित भएका छ । यदि यो युद्ध छनौट गरिएको हुन्थेन भने आफ्नो विदेश नीतिलाई थप आक्रामक बनाइरहेको रुस र थप दृढ बनाइरहेको चीनसँग लड्नका लागि अमेरिका अहिले निकै राम्रो स्थितिमा हुन सक्थ्यो ।

यो युद्धले सिकाएका पाठहरू धेरै छन् । छनौटको युद्ध सम्भावित लागत र फाइदाका साथै विकल्पहरूमा अत्याधिक सावधानी अपनाएर मात्रै रोजिन्छ । इराकको मामलामा यसो गरिएको थिएन । बरु, उच्च स्तरमा निर्णय गर्ने प्रक्रिया नै अपूर्ण थियो  । अमेरिकीहरूमा स्थानीय ज्ञानको अभाव उस्तै व्यापक थियो । यसले नबुझेको मुलुकमा आक्रमण गर्नु खतरनाक वा लापरवाही दुवै हो भन्ने सुझाव दिन मिल्ने भएको छ । तर अमेरिकाले त्यसै गरिसकेको छ ।

कहिलेकाहीँ अनुमान आफैँमा खतरनाक पासो हुनसक्छ । इराक युद्ध ऊसँग विनाशकारी हतियार भएको र ती आफैंले वा आतंकवादीलाई उपलब्ध गराएर प्रयोग गर्न सक्छ भन्ने सबैभन्दा खराब मूल्याङ्कनमा आधारित थियो । विदेश नीति सधैं यही आधारमा चल्ने हो भने जताततै हस्तक्षेपको गर्नु पर्ने आवश्यक्ता हुन्छ । त्यसैले सबैभन्दा खराब अवस्था मात्र होइन, सम्भावित परिदृश्यहरूको पनि सन्तुलित प्रक्षेपण गर्नु आवश्यक हुन्छ ।

इराक युद्धमा अमेरिका विजय हुने विश्लेषण गरिएको थियो, तर भइदियो उल्टो । अमेरिकी अधिकारीहरूले आफ्ना सबै कदमलाई उचित भन्ने ठाने । इराकीहरूले आफूलाई सद्दामबाट मुक्त गर्नेहरूको स्वागत गरेलगत्तै साम्प्रदायिक मतभेदलाई समेत पन्छाएर लोकतन्त्रलाई अँगाले । तर त्यसपछि के भयो भन्ने हामी सबैलाई थाहा छ । लोकतन्त्रको प्रवद्धृन गर्नु चुनौतीपूर्ण काम हो । शासक र शासनलाई हटाउनु एउटा कुरा हो, तर त्यसको ठाउँमा उचित र दिगो विकल्पको व्यवस्था गर्नु अर्के कुरा हो ।

युद्धले सिकाएका पाठहरू

अहिले पनि, युद्ध आलोचकहरू अमेरिकाले कहिल्यै सत्य बोल्दैन भन्ने ठान्छन् । हो, अमेरिकी सरकारले इराकसँग विनाशकारी हतियार भएको भन्नु र त्यो सत्य साबित नहुनुले पनि यो आलोचनालाई पुष्टि गर्छ । त्यसबेला मेरा हाकिम, तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नै संयुक्त राष्ट्रसंघमा त्यो मुद्दा उठाएका थिए ।

तर सरकारले झूट नबोले पनि गलत काम गर्न सक्छ । इराक युद्धको दौडमा गरिएको अनुमानले यही देखायो । संयुक्त राष्ट्रसंघको हतियार निरीक्षक टोलीलाई सहयोग गर्न सद्दामले गरेको इन्कारलाई त्योबेला प्रमाणको रूपमा हेरिएको थियो । निरिक्षण गर्न नदिनुका पछाडि उनीसँग लुकाउन अवश्य पनि केहि चिज छ भन्ने भ्रमले काम गरेको थियो । तर उनले लुकाएको चिज विनाशकारी हतियार थिएन । बरु युएनको निरिक्षणबाट उनीसँग हतियार नभएको यथार्थ बाहिरिएको खण्डमा उसलाई आफ्ना छिमेकीहरू र आफ्नै नागरिक सामु कमजोर देखिन्छु भन्ने डर थियो ।

कतिपयले इजरायलको लहडमा युद्ध गरिए भन्ने तर्क पनि गर्छन् । त्यो पनि सत्य होइन । मलाई इजरायली अधिकारीसँग भएका बैठकहरूको सम्झना छ । बरु, उनीहरूले अमेरिका गलत देशसँग युद्ध गर्न गइरहेको भनेर सुझाव दिएका थिए । उनले इरानलाई सबैभन्दा ठूलो खतराको रूपमा देखेका थिए । तर उनीहरू यही कुरा सार्वजनिक रूपमा भन्दैन थिए । किनकि बुश इराकसँग युद्धमा जान कटिबद्ध छन् भन्ने उनीहरूले बुझेका थिए । उनीहरू बुशलाई अस्वीकार गरेर चिढ्याउन चाहँदैनथे ।

वामपन्थीहरूले दावी गरेजस्तो अमेरिका तेलको लागि पनि युद्धमा गएको थिएन । अमेरिकी विदेश नीतिले सानातीना व्यावसायिक हितहरूलाई केन्द्रमा राखेर सामान्यतः सेना परिचालन गरिहाल्दैन । बरु, रणनीतिक र वैचारिक वा दुवै तवरले हस्तक्षेपको नीति लिइनछ । यद्यपि, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको तेल भण्डारको हिस्सा माग नगरेको भन्दै त्यसअघिका राष्ट्रपतिहरूको आलोचना गरेका थिए ।

इराक युद्धले द्विपक्षीयताको सीमा बारे पनि सचेत गराउँछ । जुन कुरा अमेरिकी राजनीतिमा बारम्बार प्रयोगमा ल्याइन्छ । यसले रणनीति कार्यन्वयनको ग्यारेन्टी गर्ने धारणा छ । तर, त्यस्तो मात्रै भएको छैन । इराक युद्ध मात्र होइन, भियतनाम युद्धअघि पनि अत्याधिक द्विपक्षीयता थियो । सन् २००२ मा इराकविरुद्ध सैन्य बल प्रयोगको अधिकार दिने विषय दुवै प्रमुख राजनीतिक दलहरुको स्पष्ट समर्थनमा पारित भएको थियो । त्यसअघि राष्ट्रपति बिल क्लिन्टनको प्रशासन र कांग्रेसले पनि सन् १९९८ मा इराकमा शासन परिवर्तनको प्रयास गरेका थिए । हालसालै मात्र हामीले स्वतन्त्र व्यापारको विरोध र अफगानिस्तानबाट सेना फिर्ता ल्याउने तथा चीनको सामना गर्ने निर्णयको समर्थनमा पनि द्विपक्षीयता देखेका छौं ।

तर वृहत्त राजनीतिक सहमति हुँदैमा कुनै नीति उचित र सही भन्ने ग्यारेन्टी गर्दैन भने समर्थन कम हुँदैमा कुनै नीति गलत र खराब भन्ने हुँदैन । सन् १९९०९१ को खाडी युद्धमा अमेरिकाले संयुक्त राष्ट्रसंघ समर्थित अन्तर्राष्ट्रिय गठबन्धनको सफलतापूर्वक नेतृत्व गरेको थियो । जसले न्यूनतम लागतमा कुवेतलाई मुक्त गरहेको सबैलाई थाहा छ । तर त्यो निर्णयको विपक्षीहरूले यति विरोध गरेका थिए कि सदनबाट पारित गर्नै मुश्किल भएको थियो । द्विपक्षीय समर्थन छ वा छैन भन्ने कुराले नीतिको गुणस्तर मापन गर्न सकिँदैन ।

सन् २००९ मा मैले २००३ को इराक युद्ध एक खराब छनौट थियो भन्ने तर्कसहित एउटा पुस्तक लेखें । त्यसको एक दशकपछि र युद्ध सुरु भएको २० वर्षपछि पनि म मेरो त्यो मूल्यांकनलाई सच्याउनु पर्ने कुनै कारण देख्दिन । यो खराब तवरले लादिएको एउटा गलत निर्णय थियो । अमेरिकासँगै सिंगो विश्व अझै पनि यसको परिणामसंग बाँचिरहेका छन् । 



लेखक अमेरिकी कूटनीतिज्ञ हुन् । इराक आक्रमणको समयमा उनी अमेरिकाको नीति योजना विभागमा निर्देशकका रूपमा कार्यरत थिए । उनले इराक युद्धलाई विषयवस्तु बनाइएको पुस्तक वार अफ नेसेस्सीटी : वार अफ च्वाईसबिल अफ अब्लिगेसनसलगायत पुस्तक लेखेका छन् । यो लेख उनी हाल कार्यरत रहेको संस्था काउन्सिल अन फरेन रिलेसनस्बाट अनुवाद गरिएको हो ।




Comments

Popular posts from this blog

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

बुसलाई किन जुत्ता हानेँ मैले?