दुर्गा प्रसाईंको र्‍यालीमा आएका यी मानिस

एउटा हातमा नेपालको राष्ट्रिय झण्डा र अर्को हातमा मोबाइल बोकेर हस्याङफस्याङ दगुरिरहेका सुदिप सुवेदी हतारमा देखिन्थे । बल्खु परीक्षा नियन्त्रण कार्यालयकाे चोकबाट दुर्गा प्रसाईंको र्‍याली छिचोलेर कलंकीतर्फ हिंडिरहेका सुदिप जति हतारमा हिंडे पनि पुग्ने कुनै गन्तव्य थिएन ।

सँगै आएका आफ्ना सहयात्रीबाट अलग्गिएपछि सुदिप उनीहरूकै खोजीमा थिए ।

बिहान धादिङको नौबिसेबाट सँगै आएका साथीहरू बल्खु पुगेपछि एमालेको युवा संघका कार्यकर्तासँग झडप भएपछि छुट्टिएका रहेछन् । सुदिप भने वैदेशिक रोजगारमा सँगै काम गरेका सहकर्मी भेटिएपछि एकछिन अलमलिए । साथीहरू पछि भेट्ने भनेर छुट्टिए । तर कता पुगे मेसो छैन । वैदेशिक रोजगारीको साथीसँग छुट्टिएपछि उनी अब आफ्ना गाउँले साथीहरूको खोजीमा निस्केका छन् ।

प्रहरीले मोबाइलको नेटवर्क जाम सक्रिय गराएपछि साथीहरूलाई फोन सम्पर्क गर्न पनि नपाएका उनी दुर्गा प्रसाईंले भाषण गरिरहेको स्थानतर्फ कतै भेटिन्छन् कि भनेर कुदेका रहेछन् ।

सामान्य अनुरोधसँगै र्‍यालीमा आउनुको कारणबारे जिज्ञासा राखेपछि उनी रोकिए । कुराकानीमा नजोडिने मनस्थितिमा रहेका उनलाई अलिकति आग्रह गरेपछि मुस्कुराउँदै भने, ‘यत्तिकै आएको सर ।’

‘म पनि यत्तिकै आएको हुँ, उस्तै-उस्तै परिएछ ।’ यति भनेपछि उनी सहज देखिए ।

त्यसपछि अर्को प्रश्न सोध्न सजिलो भयो । ‘कुनै पार्टीमा आवद्ध हुनुहुन्छ ?’

‘छैन ।’

‘राजा चाहियो भनेर आउनुभएको होला है ?’

उनले फेरि असहज माने र चनाखो बन्दै जवाफ दिए, ‘होइन, होइन ।’

त्यसो भए नौबिसेबाट बल्खुसम्म सात जना साथीसँग किन आए त सुदिप ?

‘फेसबुकमा भिडियो आएको थियो । दुर्गा प्रसाईंको र्‍याली हुँदैछ भनेर अस्तिदेखि नै लेखेको देखेको थिएँ । धेरै मान्छे आउँदै छन् भनेपछि के रहेछ भनेर बिहान खाना खाइवरी हामी पनि जाऔं भनेर हिड्यौं।’

वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका सुदिप दुई महिनाअघि मात्रै नेपाल फर्किएका रहेछन् । पुरानै कम्पनीले फेरि आउनु भनेपछि उनी अबको केही हप्तामा पुनः कतार फर्किने तयारीमा छन् ।

उनलाई दुर्गा प्रसाईंले र्‍याली गर्दैछन् भन्ने बाहेक बाँकी मतलब छैन । राजतन्त्र फर्किन्छ कि गणतन्त्र कायम रहन्छ उनलाई कुनै चासो थिएन । उनलाई यस्ता कैयौं प्रश्नलाई हाँसेरै पन्छाए । उनलाई त भीडमा हराएका साथीहरु खोज्नुथियो ।

दुर्गा प्रसाईंको सम्बोधन सुनेर कार्यक्रम सकिएपछि घर फर्किने मनस्थिति बनाएका उनी साथीकै खोजीमा अलमलिनु परेकोमा भने गुनासो थियो ।

‘दुर्गा प्रसाईंको भाषण त सकिन लाग्यो, कति बेला सुन्ने त ?’

उनलाई अब प्रसाईंको भाषणमा पनि उति दिलचस्पी थिएन । उनी साथीकै चिन्ता गरिरहेका थिए, ‘केटाहरू छुटिसके सर, भाषण भएको ठाउँतिर छन् होला, म जान्छु ।’

उनी बाटो लाग्न खोजेपछि तस्वीर लिनका लागि आग्रह गरियो ।

‘ह्या ! हुँदैन सर ।’

उनी हिंडे ।

०००

बिहीबार बल्खुमा दुर्गा प्रसाईंले आयोजना गरेको र्‍यालीमा सुदिप जस्तै कैयौं सहभागीहरू भेटिए, जसको कुनै लक्ष्य र गन्तव्य थिएन । न त अब के हुन्छ भन्ने आकलन थियो ।

सुदिपबाट छुटेर अलिकति अगाडि बढेपछि बल्खु चोकमा एक दर्जनभन्दा बढी युवाह राष्ट्रिय झण्डालाई तेर्स्याएर सामूहिक तस्वीर खिचाउँदै थिए । उनीहरूमध्ये अधिकांश कैलालीको बौनियाँ र टीकापुरका थिए । केही काभ्रे र सिन्धुपाल्चोकका युवा पनि थिए ।

र्‍यालीमा सहभागी हुनुको कारणबारे जिज्ञासा राखेपछि उनीहरू पनि अक्मकिए । एकअर्काको अनुहारमा हेरेर अप्ठेरो महसुस गर्दै पन्छिन खोजे ।

तिनैमध्येका दुई जनाले जाँदाजाँदै प्रश्न सोधे, ‘तपाईं चाहिं को हो नि ?’

परिचय आदान-प्रदान गर्दै जाँदा दुईमध्येका एक जना नजिककै आफन्त पर्दा रहेछन् ।

अब सोध्न सजिलो भयो ।

‘उनीहरू किन र कसरी दुर्गा प्रसाईंको र्‍यालीमा आइपुगेको त ?’

उनीहरू सबै वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीलाई राहदानी बुझाएर जाने दिनको पर्खाइमा छन् । आफन्त नभएकाहरू काठमाडौंमा बसुन्जेल गुजारा गर्न कोही निजी कम्पनीमा सुरक्षा गार्ड र कोही मोटरसाइकलको ग्यारेजमा काम गरिरहेका छन् । काठमाडौंमा आफन्त हुनेहरू आफन्तकोमा बसिरहेका छन् ।

दुर्गा प्रसाईंको कार्यक्रम हुँदैछ भन्ने फेसबुकबाट जानकारी पाएका उनीहरू सबैले सल्लाहमा नै काम गर्ने ठाउँमा बिदा मिलाएका रहेछन् । निजी विद्यालय बन्द भएपछि दुई जना सुरक्षा गार्डको काम गर्नेलाई त छुट्टी नै रहेछ ।

बिहीबार बिहानै बल्खु आइपुगेका उनीहरूको भेट राप्रपा नेपालका केन्द्रीय सदस्य मीनबहादुर शाहीसँग भएछ । राप्रपा नेता शाहीले नै राष्ट्रिय झण्डाको व्यवस्था गरिदिएपछि उनीहरू त्यही बोकेर तस्वीर खिचाउँदै रमाइलो गरिरहेका थिए ।

त्यसबाहेक उनीहरूलाई दुर्गा प्रसाईंको कार्यक्रमको लक्ष्य, उद्देश्य र भविष्यबारे कुनै जानकारी त थिएन नै, मतलब पनि थिएन ।

प्रसाईंको कार्यक्रमबारे जानकार र समर्थक जस्ता एक हुल युवाहरू बल्खु पुलको बीचमा राखिएको डिभाइडरमा बसेर गफिइरहेका थिए । त्यही हुलमा थिए, पुरानै चिनजानका एक जना एमालेका कार्यकर्ता । जो कालिकोटदेखि कैलालीको चिसापानीहुँदै कोहलपुरसम्म एमालेको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

हाल काठमाडौंमा बसोबास गरिरहेका उनी गएको आम निर्वाचनमा एमालेको प्रचारप्रसारमा कपन क्षेत्रमा सक्रिय थिए । सामाजिक सञ्जालमा पनि बेलाबेलामा सक्रियता जनाइरहने उनी पनि तिनकुनेमा आयोजित पार्टीको प्रदर्शन छाडेर दुर्गा प्रसाईंको कार्यक्रममा बल्खु कसरी पुगे ?

ठेकापट्टासँगै व्यापार व्यवसाय गर्ने उनले आफ्नोबारे नसोधिदिन आग्रह गरे । नाम उल्लेख नगर्ने शर्त अगाडि सारेपछि कुरा गर्न तयार भए ।

अघिल्लो हप्तादेखि नै उनको मोबाइलमा पार्टीको कमिटीले प्रदर्शनमा सहभागी हुनका लागि निरन्तर निर्देशनात्मक सन्देश आइरहेको थियो । उनी पनि पार्टीले गरेको कार्यक्रममा सहभागी हुने मनस्थितिमा नै थिए । तर, बिहीबार बिहान कपनबाट पार्टीको कार्यक्रम स्थल तिनकुने जान हिंडेका उनलाई साथीहरूले ‘पार्टीको कार्यक्रम त सधैं हेरिन्छ, आज दुर्गाको कार्यक्रम हेर्न जाऔं’ भनेपछि गन्तव्य फेरियो ।

त्यहाँ पुग्नुको कारण त सरसंगत रहेछ । दुर्गा प्रसाईंबारे उनको धारणा के हो त ?

‘केही हुँदैन । तर यतिका मान्छेहरू आएका छन् । हाम्रा नेता पनि अलिकति गतिला भएनन्’, उनले आफ्नै नेताप्रति पनि केही निराशा व्यक्त गरे ।

नेताहरुप्रति उनको भरोसा छैन, दुर्गा प्रसाईंले केही गर्छन् भन्ने आश पनि उनमा छैन । यसै आइदिएका छन् उनी, भेलामा ।

एक मनले तीनकुनेस्थित पार्टीको कार्यक्रममा पुग्न हतारिएका उनी साथीहरूका कारण रोकिएका थियो । अर्को पनि कारण थियो, मोटरसाइकल । बिहानै आइपुगेका उनीहरूले सुरक्षित हुन्छ भनेर मोटरसाइकल वयोधा अस्पतालभित्र पार्किङ गरेका थिए । तर, त्यही अगाडि सुरक्षाकर्मी र प्रदर्शनकारीको बाक्लो भीड भएकाले निकाल्न मिलिरहेको छैन ।

छुट्दै गर्दा उनले ‘चिनजान भएर गफ गरेको हो, नलेख्दिनू’ भनेर सचेत गराए ।

सुरक्षा निकायको रिपोर्टअनुसार बिहीबार दुर्गा प्रसाईंको कार्यक्रममा करिब १० हजार आसपास मान्छेहरू सहभागी थिए । सहभागी सबै यहाँ प्रस्तुत पात्र जस्तै थिए भन्ने होइन, तर, कैयौं पात्रको हविगत यस्तै यस्तै थियो ।

उनको कार्यक्रममा सहभागी थरीथरी मान्छेमध्ये केही थिए, राजतन्त्रको वकालत गरिरहेको राप्रपाका नेता कार्यकर्ता । कोही विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि थिए । कोही दुर्गा प्रसाईंको भाषण र अभिव्यक्तिबाट प्रभावितहरू थिए । कोही पछिल्लो समय प्रसाईंले उठाउने गरेको बैंकबाट लिएको २० लाख ऋण मिनाहा हुने भ्रमका शिकार भएकाहरू थिए ।

यसमध्येका पनि महत्वपूर्ण सहभागीहरू हुन्, लघुवित्त र मिटरब्याजको पीडाले बेसहारा भएका ऋणीहरू । गत वर्षदेखि लघुवित्त र मिटरब्याज पीडितहरू स्वस्फूर्त आन्दोलनमा सहभागी हुन थालेदेखि नै दुर्गा प्रसाईंले उनीहरूमाथि भावनात्मक राजनीति गर्न थालेका थिए ।

अहिले उनका अभिव्यक्तिमा कैयौं पीडितले आफ्ना समस्या समाधानको अचूक अस्त्र देख्न थालेका छन् । प्रसाईंले उठाउने वैदेशिक रोजगारमा जानेहरूका कथा र राजनीतिक नेतृत्वमाथि अवाञ्छित ढंगले लगाउने आरोपले कैयौंलाई झस्काउन थालेको छ ।


अनलाइनखबरमा प्रकाशित सामग्री


Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ