टिप्पणी: सत्ताको फुर्ति नदेखाऊ, पीडितलाई मिटरब्याजीबाट मुक्ति देऊ

 जस्तोसुकै आन्दोलनमा पनि कतिसम्म दमन गर्ने भनेर कार्यविधि नै हुन्छ । तर, खाना खाएर सुस्ताएका आन्दोलनकारीमाथि एकाएक पानीको फोहोरा, अश्रुग्याँसको सेल र लाठीको वर्षाले कस्तो खालको शान्ति कायम गर्न खोजिएको हो भनेर घाइते आन्दोलनकारीहरूले बुधबार नागरिक आन्दोलनसँग मिलेर शान्तिवाटिकादेखि बानेश्वरसम्म र्‍याली गरेर गृहमन्त्रीसँग जवाफ मागेका छन् ।

चार वर्षकी छोरीलाई स्कुलमा भर्ना गर्ने बेला काखमा बोकेर यो शहरमा विशाखर चौधरी के रहर लागेर आउँथिन् होला र !

ऋणको भारीले थिचिएर बाँकी रहेको टाउको पुलिसले लाठी प्रहार गरेर फुटाइदेओस् भन्ने चाहना शायदै आजसम्म कसैले राख्यो होला । साहुले बस्ने घर, कमाउने जमिन लुटेपछि खान-बस्नै मुस्किल परेकाहरूले गुप्ताङ्गमा पुलिसको लाठी कोचेर दिसा-पिसाब गर्न समेत नसक्ने भइयोस् भनेर पक्कै सोचेनन् होला ।

सर्लाहीबाट १२ दिन लामो पैदल यात्रा गरेर आएका पीडितहरूलाई काठमाडौं नपुग्दै स्वागतका लागि बुनेको प्रपञ्चले सरकारलाई आत्मरति र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारको मसला तयार भयो, तर पीडितलाई न्यायको अनुभूति भएन । त्यसरी हुन पनि सक्दैन ।

शान्तिवाटिकाको खुला आकाशमुनि १५ दिनदेखि रात बिताइरहेका मिटरब्याज पीडितहरूलाई गृहमन्त्रीले मन्त्रालयमा बोलाएर पटक–पटक दिएको धम्कीपूर्ण चुनौती हो— ‘जाओ, क्रान्ति गर !’

जीविका चलाउन लिएको ऋणको बदला जब मान्छेको आत्मसम्मान र सम्पत्तिमाथिको अधिकार खोसिन्छ, त्यतिबेला गृहमन्त्री वा कसैले चुनौती दिए पनि नदिए पनि आन्दोलन गर्नु रहर हुँदैन, बाध्यता हुन्छ ।

बाध्यतामा लिएको ऋण चुक्ता गर्न सावाँको हजारौं गुणा ब्याज, भएको जग्गा–जमिन, खाडीमा पसिना बगाएर कमाएको दुई-चार पैसा अनि आफ्नै शरीर र नाबालिक छोरीको अस्तित्व सुम्पनुपर्ने भएपछि शायदै कसैको धैर्य यति लामो समय टिक्न सक्छ ।

त्योसँगै कुनै ठूलो नागरिक तरंग उठ्यो भने संकटोन्मुख बन्दै गएको मुलुकको अर्थतन्त्रसँगै गुम्दै गएको सामाजिक–राजनीतिक नेतृत्वप्रतिको विश्वास ढल्ने मात्रै होइन खरानी हुनेछ । त्यसको मूल्य सत्तामा आसीनहरूले मात्रै होइन, सिंगो समाजले चुकाउनुपर्ने हुनसक्छ । किनभने, यो आजदेखि सुरु भएको उत्पीडनको कथा होइन ।

उनीहरूले पुस्तौंदेखि भोग्दै आएको र अझै कैयौं पुस्ताले भोग्नुपर्ने त्रासदीपूर्ण यथार्थ हो । यसले झस्काएपछि उनीहरू सत्तालाई सुनाउन काठमाडौं पुगेका छन्— कोही पैदलै सयौं माइलको यात्रा गरेर, कोही ढल्किसकेको उमेरको हिसाब भुलेर ।

यस विषयमा पार्टीभित्र पनि आफ्नै गुटको राम्रै पहुँच भएको क्षेत्रको हविगत बारे गृहमन्त्री बेखबर छन् भनेर पत्याउन सकिंदैन, पत्याउनुहुँदैन पनि ।

यसको जवाफ गृहमन्त्रीले ‘कि मैले भनेको मान, होइन भने त आफैं जान’ भनेर दिनु नैतिक हुँदैन । त्यो पनि आफूलाई कम्युनिस्ट, पारदर्शी, सन्त नेताका रूपमा प्रस्तुत गर्दै आएकाले त झन् मिल्दै मिल्दैन ।

यहाँ पीडितहरू कुनै क्रान्ति वा विद्रोह गरेर होइन, शान्तिपूर्ण ढंगले राज्यसँग न्याय मागिरहेका छन् । सत्ताको सिंहदरबार घरघरै पुगे पनि वर्षौंदेखि भोगिरहेको उत्पीडनबाट छुटकारा पाउनुको सट्टा आफूमाथि थोपरिएको वैधानिक अन्यायको साक्षी बस्नु परेपछि मधेशको फाँटबाट ६ वर्षयता पीडितहरू कैयौं पटक उकालो चढेर यो शहरको सिंहदरबार छेउसम्म पुगेर फर्किसकेका छन् ।

तर उनीहरूले न्याय होइन, आश्वासन र सम्झौता सिवाय केही पाएका छैनन् । बरु रहेको जग्गा-जमिन, इज्जत, आत्मसम्मान एकपछि अर्को गरी गुमाउँदै आइरहेका छन् ।

सरकारले हरेक पटक दिने आश्वासन र गरेका उधारा सम्झौताले पीडितलाई आशावादी बनाएर गाउँ फर्किन सघाउँछ । तर गाउँमा साहुले पीडामाथि थप्ने पीडा र शोषणको हिसाब पीडितको बहीखातामा मात्रै सुरक्षित रहन सक्छ ।

यस्तै ज्यादतीको शिकार बनिरहनु परेपछि पीडितहरू फेरि एकपटक सत्तालाई आफ्नो दुःख सुनाउन घरैबाट पेट भर्ने मालसामान, तिहुन-तरकारी, झिटीगुन्टा, भाडाकुँडी, लत्ताकपडा बोकेर यो शहर छिरेका छन् ।

कसैले विद्रोह नगरी न्याय मागिरहेको छ भने प्रत्याभूति गराउनु कानुनी राज्यको दायित्वभित्र पर्छ । त्यसैमा नागरिकको घरबास र सिंगो मुलुकको सुरक्षाको बागडोर सम्हालेका गृहमन्त्रीले पीडितलाई मन्त्रालयमा बोलाएर ‘सक्छौ भने लडेर देखाओ’ भन्नु मूर्खता मात्रै हुन्छ । यो न न्यायपूर्ण हुन्छ, न कुनै बहादुरी ।

पीडितहरू सिर्फ न्याय मागिरहेका छन्, यस्ता धाकधम्की त उनीहरूलाई बानी परिसकेको छ । साहु-महाजनले दिनदिनै दिएकै यही धम्की हो । बरु बदलामा सारा श्रीसम्पत्ति कब्जामा लिएका छन् । आफूले भोगेको उत्पीडन सन्तान दरसन्तानले भोग्नु नपरोस् भन्ने पीडितहरूको अहिलेको मुख्य चासो हो ।

यसो होइन भने, बिहान बेलुका खाएको खाना पनि हजम गर्न नसक्ने रामकवल चमारलाई ८० वर्षको उमेरमा अँधेरा रातहरू शान्तिवाटिकामा फोहोरको थुप्रो अगाडि अनिश्चयका रातहरू गुजार्नु रहर होइन ।

जीवनभर खेत-खलियान फोडेर साहुलाई सुख सुम्पिएका हातहरू शान्तिवाटिकाको टेन्टभित्र सुतिरहेका बेला पुलिस प्रशासनले लाठी हानेर भाँचिदेओस् भन्ने रहर त झनै होइन ।

पैदलै आएका पीडितसँग सरकारले गरेको पाँचबुँदे सम्झौतामध्ये मुख्य बुँदा हो, छानबिन आयोगको गठन गर्ने । तर मन्त्रिपरिषद्ले गठन गरेको उक्त आयोगका बारेमा प्रमुख तोकिएका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई समेत खबर नहुनु पीडितका लागि विडम्बना त हो नै सरकारका लागि लज्जाको विषय हो ।

त्यस्तो आयोगले समाधान दिन सक्दैन भन्नेमा गृहमन्त्रीनिकट बुद्धिजीवीहरूकै छ । उनीहरूले शान्तिवाटिका पुगेर एकथोक र गृहमन्त्रीलाई भेट्दा अर्कैथोक भनेका छैनन् भने ‘आयोगले त केही हुँदैन’ भनेको सुन्ने पीडितहरू शान्तिवाटिकाकै टेन्टमा रात कटाइरहेका छन् ।

यदि आयोगमार्फत समाधान चाहने हो भने यसअघि पीडितहरूले गरेको ६१ दिन लामो धर्नापछि सरकारले गरेको सहमतिलाई कार्यान्वयनमा ल्याए अलिकति भए पनि न्यायको अनुभूति हुनेछ । त्यतिबेलाको सरकारले गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुषालको नेतृत्वमा गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ले बुझाएको ‘मिटरब्याज एक आर्थिक अपराध’ शीर्षकको प्रतिवेदन सरकारलाई बुझाएको छ । गृह मन्त्रालयको वेबसाइटमै राखिएको उक्त प्रतिवेदन गृहमन्त्री आफैंले अलिकति समय मिलाएर पढ्दा सबै थाहा भइहाल्छ ।

होइन, यसको समाधान गर्नेभन्दा पनि अल्झाउने मात्रै नियत हो भने आयोग मात्रै के अदालत नै खोले पनि हुन्छ । कि मिटरब्याजका ऋणीलाई भन्दा धेरै साहुहरूलाई उत्पीडन भयो भन्नुपर्‍यो । गृहमन्त्रीले आफू निकटस्थको राजनीति जोगाउन महोत्तरी र सर्लाहीलगायत जिल्लामा पीडितको पक्षमा काम गर्न गाह्रो परिरहेको आरोप लागेको छ। यद्यपि, मुलुकको गृहमन्त्रीले कोही कसैको राजनीति जोगाउन यस्तो गरे होलान् भनी सोच्नु नैतिक र उचित हुँदैन । सोच्नु पनि नहुने कुरा गर्न त झन् हुँदै भएन ।

तर गृहमन्त्रीलाई आयोग र समितिमा मोह छ भन्ने उदाहरण थपिन थाल्नु चिन्ताको विषय हो । सोमबार शान्तिपूर्ण मार्चको तयारी गरिरहेका पीडितहरूलाई शान्तिवाटिकाभित्र गेट लगाएर थुन्नु प्रहरी प्रशासनको कमजोरी हुन्छ वा कसको ?

पीडितमाथि दमन भएको दोस्रो दिन गृहमन्त्रीले घटनाको छानबिन गर्न समिति गठन गरेका छन्, त्यो पनि पहिल्यै निष्कर्ष निकालेर । ‘मिटरब्याज पीडितहरू बसेको स्थानमा बाँसका भाटा तथा इँटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपनाएको’ निष्कर्ष गृहमन्त्रीको छ । यो कुरा उनले पत्रकार सम्मेलन गरेरै भनेका छन् ।

पीडितहरूले पनि आफू बसिरहेको स्थानमा बाँसका भाटा र इँटाका टुक्राहरू भएको स्वीकार गरेका छन् । तर, ती आफूले नराखेको उनीहरूको दाबी छ । त्यो एक हदसम्म सही पनि छ । किनभने, उनीहरू बसिरहेको शान्तिवाटिका काठमाडौं महानगरले ठेकेदारलाई जिम्मा दिएर निर्माण गरिरहेको र निर्माण सम्पन्न नभइसकेको अवस्थामा छ । निर्माण कार्य हुने ठाउँमा बाँस र इँटा नभएर फूलैफूलको बगैंचा हुने कुरा नहुनु स्वाभाविक हो ।

साथै, पीडितहरू करिब दुई हप्तादेखि पाल टाँगेर रात काटिरहेका छन् । पाल अड्काउन पनि बाँस र इँटा हुनु कुनै हातहतियार जम्मा गर्नु जस्तो पक्कै होइन । यदि त्यस्तै गरेका थिए भने पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन अनेक उपाय अपनाउन सक्थ्यो । त्यसैमा बन्द पर्खालभित्र थुनिएका पीडितलाई नियन्त्रणमा लिन झनै सजिलो हुन्थ्यो होला ।

जस्तोसुकै आन्दोलनमा पनि कतिसम्म दमन गर्ने भनेर कार्यविधि नै हुन्छ । तर, खाना खाएर सुस्ताएका आन्दोलनकारीमाथि एकाएक पानीको फोहोरा, अश्रुग्याँसको सेल र लाठीको वर्षाले कस्तो खालको शान्ति कायम गर्न खोजिएको हो भनेर घाइते आन्दोलनकारीहरूले बुधबार नागरिक आन्दोलनसँग मिलेर शान्तिवाटिकादेखि बानेश्वरसम्म र्‍याली गरेर गृहमन्त्रीसँग जवाफ मागेका छन् ।

प्रहरीको लाठी प्रहारले हात भाँचिएका, टाउका फुटेका, गुप्ताङ्गमा भएको घाउले हिंड्न नसक्ने अवस्थाका, अश्रुग्याँसको पिरोले आँखा पोलेर रसाइरहेका पीडितहरू गृहमन्त्रीविरुद्ध नारा लेखिएका पोस्टर बोकेर र्‍यालीमा सहभागी थिए । साहु महाजनविरुद्ध लड्न आएका उनीहरू गृहमन्त्रीविरुद्ध नाराबाजीमा उत्रिनु सरकार र नागरिकबीच विश्वासको खाडल बढ्नु हो । यसलाई गृहमन्त्रीले नै सच्याउनुपर्ने उनीहरूको माग छ ।

तर, यसअघि गृहमन्त्री र उनले गठन गरेको वार्ता टोलीसँग भएका छलफलले पीडितहरू सरकार न्यायको पक्षमा छ भन्नेमा उनीहरूलाई सन्देह छ । वार्तामा बस्दा सरकारी वार्ता टोलीले गरेको व्यवहारसँग बरु उनीहरू सन्तुष्ट छैनन् । त्योभन्दा बढी गृहमन्त्री स्वयंले बोलाएर गर्ने गरेको व्यवहारसँग उनीहरूको असन्तुष्टि छ ।

त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने पनि गृहमन्त्रीलाई जानकारी भएकै विषय हो । पीडितहरू सयौंको संख्यामा काठमाडौं आएर ट्राफिक जाम हुने गरी सडकमा र्‍याली निकालिरहँदा पनि वास्ता नगरेको सरकारले गत २३ चैतमा छलफलका लागि उनीहरूलाई बोलाएको थियो । छलफलका क्रममा आफूले आयोग गठन गरिसकेकाले त्यसैलाई मानेर फर्किनुपर्ने उनको अडानलाई पीडितहरू नमानेपछि ‘जाओ, क्रान्ति गर’ भनेर धम्काए ।

पटकपटक त्यस्तो व्यवहार भोगेका उनीहरूले त्यसको भोलिपल्टै सिंहदरबार अगाडिको निषेधित क्षेत्रलाई तोड्ने प्रयास गरे । उनीहरू त्यो निषेधित क्षेत्र हो र तोड्नुपर्छ भन्ने भन्दा पनि आफ्नो माग सुनुवाइ नभएको र मन्त्रीले उल्टै हप्काएको भनेर आक्रोशित थिए ।

प्रहरीको दमनले शरीरभरी घाउचोट बोकेका पीडितहरू अब न्याय नपाएसम्म घर नफिर्ने अडान लिइरहेका छन् । साहु महाजनको शोषणले थलिएका उनीहरू राज्यको दमनले झन् आक्रोशित बनेका छन् नै न्यायको माग पूरा हुनुपर्नेमा पनि उत्तिकै प्रतिबद्ध ।

तर राज्य यसको समाधान कुन बाटोबाट खोज्छ, उनीहरू जवाफ खोजिरहेका छन् । पीडितहरूलाई राज्यमाथि शंका भइरह्यो र विकल्पसहित जवाफ माग्न सुरु गरे भने त्यसले लोकतन्त्रमाथि नागरिकको विश्वास टुट्ने छ । बुधबार नागरिक आन्दोलनको पहलमा पीडितमाथि भएको दमनविरुद्धको र्‍यालीमा अभियन्ता रक्षा बमले प्रस्तुत गरेको कविता जस्तैः

तिमीले त झुटा आश्वासन मात्रै दियौ

त्यसैले,

मलाई अब तिमीमाथि शंका छ

तिम्रो सम्झौतामाथि शंका छ

तिम्रो बोलीमाथि शंका छ,

भाषामाथि शंका छ

तिम्रो लाठीमाथि शंका छ

तिम्रो गोलीमाथि शंका छ

किनकि,

तिमीले तिम्रो लाठी र बन्दुक मेरो खुन पिउन तेस्र्यायौ

मलाई तिम्रो राजनीतिको गोटी र मेरो भूमिलाई

तिम्रो राजनीति गर्ने थलो बनायौ…

भन सरकार म तिम्रो दरबार कुन रंगले रंगाउँ ?

मेरो शिरबाट बगेको रातो रगतले रंगाउँ कि ?

फर्जी तमसुकबाट निस्कने कालो मसीले रंगाउँ ?


अनलाइनखबरमा प्रकाशित सामग्री

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग