टिप्पणी: सक्रिय ज्ञानेन्द्र र प्रतिक्रियात्मक लोकतान्त्रिक दलहरू

पूर्व राजा ज्ञानेन्द्रले ‘पूर्व’ नलेखी सार्वजनिक विज्ञप्ति जारी गर्ने मात्रै होइन; ‘देश जोगाउन राजसंस्था र दलहरू मिलेर अघि बढ्नुपर्ने’सम्म बताउन थालेका छन् । तर, अविश्वासको जगमा उभिएको लोकतान्त्रिक नेतृत्व प्रतिक्रिया दिने भूमिकामा सीमित छ ।


नागरिकमा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि चुलिंदो क्रममा छ । त्यो असन्तुष्टि लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि नेतृत्वप्रति छचल्किंदै छ । पछिल्लो उपनिर्वाचन परिणाम यसको ज्वलन्त उदाहरण हो ।

अघिल्लो वर्ष सम्पन्न तीनै तहका निर्वाचनमा मतदाताले असन्तुष्टिलाई विकल्पका रूपमा रोजे । स्थानीय निर्वाचनमा विद्यमान राजनीतिक विचार नबोक्ने तर कुनै विकल्प पनि नदिने बालेन शाह काठमाडौं, हर्क साम्पाङ धरान र गोपी हमाल धनगढीमा निर्वाचित भए ।

उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपाले अनपेक्षित मत प्राप्त गर्‍यो । मधेश प्रदेशमा सीके राउतको दलले चुनाव जित्न सकेन तर मधेशका मतदाताको मन राम्रै गरी जित्यो ।

यद्यपि, त्यो मत व्यवस्थाविरुद्ध होइन, यसमा सुधारका लागि हो भन्ने देखियो । उपनिर्वाचनको मत परिणामले यसको संकेत गरेको छ । किनकि लोकतान्त्रिक गणतन्त्रलाई अस्वीकार गर्ने सैद्धान्तिक मान्यता बोक्ने राप्रपा लगायत दलहरूलाई भने नागरिकले विकल्प ठानेनन् ।

यसले नागरिकमा राजनीतिक नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि भए पनि लोकतान्त्रिक व्यवस्थाप्रति विश्वास भएको पुष्टि गर्छ । लोकतन्त्र ल्याउँदाको बखत नागरिक समाजको नेतृत्वमा रहेर संघर्ष गरेका अगुवा देवेन्द्रराज पाण्डे पटक–पटक व्यवस्था बदल्न लडेका नागरिक अब लोकतन्त्र बदल्ने होइन सुधारको बाटो खोजिरहेका छन् भन्ने विश्लेषण गर्छन् ।

‘लोकतन्त्रलाई लोकतन्त्रले सुधार्छ । त्यो भनेको जनताले सुधार्छन् । एउटा पुस्ताले नसुधारे अर्को पुस्ताले, एउटा समुदायले नभए अर्को समुदायले सुधार्छ’ उनी भन्छन्, ‘तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ ।’

२०६२/६३ पछि २०७२ सालसम्मको अनुभवबाट अभ्यस्त हुँदै दलहरूले संरचनागत आधारलाई उपयोग गरेर मुलुकको विकास, समानता, समावेशिता, न्यायका क्षेत्रमा काम गर्नुपर्ने थियो । ‘तर अहिले भागबण्डाको राजनीति झनै चरम हुन पुगेको छ । नेताहरू कसैले कसैलाई सुन्न छाडेका छन् । नेताहरू अरूलाई के थाहा छ र भन्ने दुःखलाग्दो अवस्थामा पुगेका छन्’, नागरिक अगुवा पाण्डे भन्छन् ।

नागरिकले नेताको विकल्प खोज्न थालेसँगै लोकतन्त्रपछि साधारण नागरिकको हैसियतमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन थालेका छन्। संविधान निर्माणभन्दा अघिसम्म धीमा स्वरमा विज्ञप्ति-बाजी गरिरहेका पूर्व राजा ज्ञानेन्द्र यतिबेला चर्को स्वरमा ‘दलहरू राजसंस्थासँग सहकार्यमा आउनुपर्ने’ सम्मको चुनौती पेश गरिरहेका छन् ।

उनले सामाजिक र धार्मिक गतिविधिका नाममा देश दौडाहालाई तीव्रता दिएका छन् । नागारिक अभिनन्दनका नाममा ‘देशको अवस्था बिग्रिनुमा राजनीतिक दलको भूमिका मुख्य रहेको’ सन्देश प्रवाह गर्दै विद्यमान संकटको फाइदा उठाउने कोसिस गरिरहेका छन् ।

सक्रियता बढाउँदै ज्ञानेन्द्र

सत्ताच्यूत भएपछि केही समय मौन रहेका पूर्व राजा पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेसँगै केही खुल्न थालेका थिए । त्यसको सुरुवात उनले आफ्नो जन्मदिन, नयाँ वर्ष, दशैं र विभिन्न चाडपर्व जस्ता अवसरलाई छोपेर विज्ञप्तिमार्फत सार्वजनिक गर्ने गरेका थिए ।

उनले निकाल्ने ती विज्ञप्तिको शिरमा ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको सन्देश’ लेखिएको हुन्थ्यो ।

तर, २०७२ सालमा संविधान निर्माण भएसँगै उनले आफूलाई मुखर बनाउन सुरु गरेका थिए । आजभोलि त उनले ‘पूर्व श्री ५ महाराजाधिराज’ होइन, सीधै ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको सन्देश’ भनेर लेख्न थालेका छन् । यसबाट उनले आफू पूर्वराजा नरहेको सन्देश दिन खोजेको बुझिन्छ ।

सुरु-सुरुका विज्ञप्ति र सम्बोधनमा उनी देशको विकास, नागरिकको स्वास्थ्यको चिन्ता र प्रगतिको कामना गर्थे । अहिले उनी त्यतिमा रोकिंदैनन् । मुलुकको विकास रोकिएको, अस्थिरताले जरा गाडेको, भ्रष्टाचार बढेको, भागबण्डाको राजनीति चलेको भनेर निराशालाई सार्वजनिक गर्छन् भने जनताले विकल्प खोजेको भन्दै ‘राजसंस्था विना प्रजातन्त्र नटिक्ने’ आशय व्यक्त गरिरहेका छन् ।

यो एउटा उदाहरण मात्रै हो, जसमा उनको हौसला प्रतिविम्बित हुन्छ । योभन्दा बढी उनको राजावादी अभियन्ता र राजसंस्था समर्थक राजनीतिक दलहरूसँगको मिलिभगतमा बढिरहेका गतिविधि र दलका नेताहरूमाथि गर्ने टिप्पणीमा झल्किने गर्छ ।

उनको उत्साह पछिल्ला दुईवटा विज्ञप्तिबाट प्रष्ट हुन्छ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते जारी विज्ञप्तिमा उनले लोकतान्त्रिक व्यवस्था वर्तमान समस्याको मूल कारण रहेको बताउँदै राजनीतिक दलहरूले आफूसँग सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरे । ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन’ उनको विज्ञप्तिमा उल्लेख थियो ।

त्यसपछि नयाँ वर्षको अवसरमा १ वैशाख २०८० मा जारी विज्ञप्तिमा उनले ‘नेपालका सबै पक्षबाट गल्ती भएको भन्दै’ आफू मात्रै होइन, राजनीतिक दलहरूले समेत क्षमा मागेर राजसंस्थासँग सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनपछि ज्ञानेन्द्रसँग पटक-पटक भेट गरिरहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्व राजामा उत्साह देखिएको बताउँछन् । ‘राजालाई आफू जनतामा जान्छु भन्ने भावना एकदमै राम्रोसँग प्रकट भएर आएको छ । त्यही भावना प्रकट भएकै कारण झापा, जनकपुर र इनरुवाका विशाल अभिनन्दन कार्यक्रममा पुग्नुभएको हो’ मिश्र भन्छन्, ‘राजाले गैरराजनीतिक भने पनि राजसंस्थाको मागसहित भएकाले ती राजनीतिक चरित्रका कार्यक्रम हुन् ।’

धार्मिक स्थलको भ्रमण, पूर्व राजपरिवारका सदस्य र नातेदारहरूका संघ–संस्था तथा पारिवारिक जमघटमा ज्ञानेन्द्रको उपस्थिति हुन थालेको लामै समय भइसक्यो । कहिले परिवारको सदस्यको जन्मदिनमा डान्सबारमा गएर नाच्ने त कहिले रेस्टुराँमा पुगेर युवा-युवतीसँग अन्तरक्रिया गर्ने उनको नियमित काम जस्तै भएको छ । तर, पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरूमा पनि उत्तिकै सक्रियतापूर्वक सहभागी हुन थालेका छन् ।

गत पुस पहिलो साता परिवारका सदस्यसहित जनकपुर पुगेर पूजापाठमा एक हप्ताभन्दा बढी समय बिताएका उनी त्यसपछि निरन्तर देश दौडाहामा छन् । ज्ञानेन्द्रले गत १ फागुनमा मात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर नागरिक अभिनन्दन समेत ग्रहण गर्न भ्याए । ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरेपछि एमालेले दल बदल्दै हिंडिरहेका प्रसाईंलाई पार्टी केन्द्रीय समितिबाट कारबाही गरेर हटाएको थियो ।

त्यसपछि गत चैतमा सुनसरीको सदरमुकाम इनरुवामा पूर्वपञ्च, राजतन्त्र समर्थक र विभिन्न हिन्दुवादी संगठनहरूले आयोजना गरेको नागरिक अभिनन्दनमा उनी राजाकै हैसियतमा सहभागी हुन पुगेका थिए । कार्यक्रमको ब्यानरमा ‘श्री ५ महाराजाधिराज’ उल्लेख भएपछि विरोध भएको थियो भने स्थितिलाई सहज बनाउन ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गर्नु परेको थियो । उक्त ब्यानर आयोजकले हटाएपछि मात्रै इनरुवाको परिस्थिति सामान्य बनेको थियो ।

त्यसको केही दिनअगाडि ज्ञानेन्द्र इटहरीको बुढीखोलामा शिवसेनाले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका थिए । यद्यपि, उनले यस्ता कार्यक्रमहरूमा सार्वजनिक अभिव्यक्ति भने दिएका छैनन् ।

हाल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहेका ज्ञानेन्द्रलाई आगामी हप्ता लुम्बिनी र कर्णाली प्रदेशमा समेत अभिनन्दन गर्ने तयारी भइरहेको राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए । गत ५ वैशाखमा नेपालगञ्जमा राप्रपासहित शिवसेना नेपाल र विश्व हिन्दु महासंघ लगायत संघ-संस्थाले अभिनन्दन गरेका थिए । यसपछि १७ वैशाखमा जुम्ला र २० वैशाखमा पुनः नेपालगञ्जमा आयोजित अभिनन्दन कार्यक्रममा ज्ञानेन्द्र सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिने भूमिकामा नेताहरू

लोकतन्त्र स्थापनासँगै नगारिकको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि र अभिव्यक्तिमा राजनीतिक दलका नेताहरू प्रतिक्रिया दिने तहमा छन् । नागरिक समाजका अगुवा पाण्डे नेताहरू आफ्नो दायित्व पूरा गर्न चुकेर प्रतिक्रियामा बरालिने गरेको बताउँछन् ।

‘नयाँ बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयनमा लैजाने कामहरू अलपत्र छन् । तर, भागबण्डामा अल्झिएर परिणाम दिन नसकेका नेताहरू ज्ञानेन्द्रको आलोचना गरेर समय बिताइरहेका छन्’ उनी भन्छन्, ‘तर जसले जे भने पनि लोकतन्त्र कसैले ढाल्न सक्दैन । विकल्पमा नयाँ नेतृत्व आएर भए पनि यसको सुधार हुन्छ ।’

प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते राजनीतिक दलहरूले सहकार्य गर्नुपर्ने विज्ञप्ति जारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टाछुट्टै मञ्चबाट प्रतिक्रिया जनाएका थिए ।

प्रचण्डले शहीद सन्तति फाउण्डेसनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ज्ञानेन्द्रका पछिल्ला अभिव्यक्ति र गतिविधिलाई लक्षित गर्दै ‘केही भूतप्रेत बाटामा आउँदैमा केही नहुने’ बताएका थिए । एमाले अध्यक्ष ओलीले पनि विज्ञप्ति सार्वजनिक भएकै भोलिपल्ट विराटनगर पुगेर ‘ज्ञानेन्द्रजीलाई अहिले पनि पहिलेकै जस्तो लागेको होला, दुई-चार जना मान्छे देख्यो भने पहिलेकै जोश आउँछ’ भनेर प्रतिक्रिया जनाए ।

यी पछिल्ला उदाहरण मात्रै हुन् । प्रमुख राजनीतिक दलका नेताहरू ज्ञानेन्द्रका क्रियाकलाप लक्षित प्रतिक्रिया जनाइरहन्छन् । कहिले ‘लोकतन्त्रलाई तल–माथि गर्न सक्ने कुनै शक्ति छैन’ भन्दै त कहिले प्रधानमन्त्रीको हैसियतमा रहेका नेताले ‘दरबार हत्याकाण्ड मच्चाउनेले अर्ति नदेऊ’ भन्दै हलुका टिप्पणी गरेर बसेका छन् ।

यतिले मात्रै नपुगेर राजनीतिक दलका नेताहरू एकअर्कालाई ज्ञानेन्द्रसँग साँठगाँठ गरिरहेको आरोप पनि लगाइरहन्छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ५ पुस २०७७ मा संसद विघटन गरेपछि प्रचण्डले उनलाई ‘राजावादीसँग हिमचिम बढाएको’ आरोप लगाएका थिए । ओलीले पनि प्रचण्डलाई ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेको र त्यसैको आधारमा उपद्रो मच्चाइएको आरोप लगाएका थिए ।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेर त्यसको अध्यक्ष रहेका माधवकुमार नेपालले त त्यसभन्दा अगाडि बढेर ‘ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको’ सार्वजनिक आरोप लगाएका थिए । अघिल्लो वर्षको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दक्षिणपन्थीहरूसँग साँठगाँठ गर्न ओली पूर्वराजा शाहको निवासमा जाने गरेको आरोप नेपालको थियो ।

ज्ञानेन्द्र के चाहन्छन् ?

ज्ञानेन्द्रका पछिल्ला गतिविधिले उनी नागरिकको राजनीतिक दलहरूप्रति बढ्दो वितृष्णाको लाभ लिन चाहन्छन् भन्ने देखिन्छ । यसलाई ख्याल गरेका उनले पछिल्लो समय राजतन्त्र होइन, राजसंस्थाको आवश्यकता रहेको बताउँदै आइरहेका छन् । उनका समर्थकहरूले पनि राजतन्त्र होइन, राजसंस्था सहितको लोकतन्त्र चाहिएको बताउने गरेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र भन्छन्, ‘राजतन्त्र भन्ने शब्द आफैंमा गलत छ । राप्रपाले वकालत गरेको पनि राजसंस्थाको हो । त्यो संस्था संवैधानिक हुनुपर्छ । राजा ज्ञानेन्द्रले शासन सत्ता लिंदाको जस्तो वा पञ्चायतको जस्तो कसैले पनि खोजेको होइन ।’

तर, पूर्व राजाले चाहेजस्तो जनतामा स्थान पाउने सम्भावना नरहेको पाण्डेको बुझाइ छ । ‘जनताको दुःख र पीडालाई भजाएर कहीं पुगिंदैन । एकैछिन लोकप्रियता प्राप्त गर्न सकिएला । व्यवस्था बदलियो र जनतामा चेतना आइसक्यो । अब असन्तुष्टि भजाएर लाभ लिन्छु भन्ने नसोचे हुन्छ’ उनी भन्छन्, ‘कस्तो राजा खोजेको हो ? संवैधानिक राजा खोजेको भए राष्ट्रपति भएकै ठाउँमा बस्ने हो, गर्ने केही होइन । कि सक्रिय राजा नै चाहियो भन्ने हुनुपर्‍यो । त्यो आँट कसैमा देखिंदैन ।’



अनलाइनखबरमा प्रकाशित सामग्री

Comments

Popular posts from this blog

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा